माघे सङ्क्रान्तिमा खाइने तरुल, चाकु, तिल र खिचडी कति धेरै पौष्टिक !

 माघ १, २०७६ बुधबार १३:२४:२ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका खानेकुरा खाने चलन छ । चिसोमा यस्ता खानेकुराले शरीरलाई तातो र तागत दिन्छ । 

तरुलका फाइदा 

- तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बी वान, फोलिक एसिडका साथै पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फस्फोरस जस्ता पोषक तत्वहरु पाइन्छ ।

- तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टिअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले शरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ ।

- क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्ससँग लड्दछ । साथै तरुल दम रोगीका लागि पनि फाइदाजनक हुन्छ ।

- तरुल नियमित रुपमा खानाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । 

- साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर्स रोगबाट बचाउँछ ।

चाकु

-सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बाेहाइड्रेट पाइन्छ ।   

-यसमा धेरै मात्रामा आइरन पाइन्छ, जसले गर्दा रक्तअल्पताबाट बचाउँछ ।  

-महिला तथा सुत्केरीलाई चिसोबाट बचाउने तथा शक्क्ति दिने काम गर्छ ।  

-प्रशस्त क्याल्सियम पाइने भएकाले शरीरलाई उर्जा दिन्छ  ।   

तिल  

- घिउसँग तिलको प्रयोग गरी खानाले धेरै रोगबाट मुक्ति मिल्छ । त्यसैले तिललाई विभिन्न परिकार बनाएर यसलाई खान सकिन्छ । स्वादसँगै स्वस्थ रहन सकिन्छ ।

- यदि कसैलाई बारम्बार पिसाब आउने वा पिसाब आउँदा धेरै गाह्रो हुने समस्या छ भने तिल खानाले फाइदा हुन्छ ।

- तिलको तेलमा निमको पात राखेर त्यही तेलले मालिस गर्नाले मुहारमा आएको एलर्जी तथा छाला सम्बन्धी रोगबाट राहत मिल्छ ।

- तिलको तेल प्रयोग गरिएको खाना खानाले कोलेस्ट्रोल कम गराउने हुनाले हृदयरोग लाग्ने सम्भावना धेरै कम हुन्छ ।

- तिलको तेल लगाउनाले आगोले पोलेको घाउ निको हुन्छ ।

- दिनहुँ ५ ग्राम जति कालो तिल राम्रोसँग चपाएर खाने गर्नाले गिजा र दाँत बलियो हुन्छ । तिलको नियमित सेवन गर्नाले स्वस्थ रहन सकिन्छ, हड्डी बलियो बनाउँछ । हरेक महिलाले आफ्नो स्वास्थ्य राम्रो बनाउन हप्तामा दुई पटक तिलको परिकार खानै पर्छ । आईरन चक्की खानुभन्दा तिल खानु धेरै राम्रो  हुन्छ ।  

खिचडी 

-माघे संक्रान्तिमा फुरौला तथा खिचडी खाने चलन छ । यो खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने र रोगसँग लड्न सक्ने शक्क्ति दिन्छ । 

- कालो दालमा पर्याप्त मात्रामा रेसादार पदार्थ र लौह तत्व हुन्छ । त्यस्तै पर्याप्त मात्रामा आइरन पाइन्छ । 

- फुरौलासँग खाइने अचारले शरीरमा गएको चिल्लो पदार्थ तथा अन्य खनिज राम्रोसँग सोसिने हुन्छ ।

- यस्तै पिँडालु, सखरखण्ड समेत शरीरको लागि अत्यन्तै पोषक तत्व भएको खाने कुरा हो । 

(विना न्यौपानेले  जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीसँगको कुराकानीमा आधारित )

अन्तिम अपडेट: बैशाख ४, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया