दिपायल सिलगढी नगरपालिकाको एकै वडामा १८ छाउपडी गोठ

 माघ ४, २०७६ शनिबार ८:५६:५४ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिककाे एकै वडामा १८ वटा छाउपडी गोठ रहेको पाइएको छ ।

महिला अधिकार मञ्चकी अध्यक्ष तथा छाउगोठ अनुगमन समितिकी संयोजक सीता बिकसहितको टोलीले पालिकाकाे वडा नम्बर - ८ लडागडामा ठूलो संख्यामा छाउगोठ भेटेको हो । नगरपालिकाको दुई गाउँमा मात्रै यति ठूलो सङ्ख्यामा छाउगोठ भेटिएपछि आफूहरु अचम्ममा परेको संयोजक सीता बिकले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दुई गाउँमा त यति ठूलो सङ्ख्यामा छाउगोठ छन् । अन्य वडामा कति होलान ? हामी पुरै नगरपालिकाकाे तथ्याङ्क सङ्कलन गर्दैछौ‍ । जहाँ शिक्षित छन् त्यहाँ बढी छाउगोठ छन् ।’

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका छाउगोठको तथ्यांक सङ्कलन गरी सबै छाउगोठ भत्काइने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘छाउगोठको तथ्यांक सङ्कलन हुँदै छ । जति छाउगोठ छन् सबै भत्काउने छौँ ।’

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ । 

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाइ छाउगोठमा राख्ने चलन कायमै रहेको छ । गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि अहिले डोटीसहित समग्र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान नै सञ्चालन भएको छ । 

आफ्नो नगरपालिकामा भएका छाउगोठहरु तत्काल भत्काउन सबै वडाध्यक्ष र कर्मचारीलाई पत्राचारसहित निर्देशन दिएको दिपायल सिलगढी नगरपालिकाका नगर उप-प्रमुख शिवराज खड्काले बताउनुभयो । केही दिन पहिले प्रहरी तथा स्थानीयवासीले जिल्लाको बडीकेदार गाउँपालिका ३ घागलको सिदुरेपानीमा मात्रै २८ वटा छाउपडी गोठहरु भत्काइएका छन् । 

जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृती तत्काल अन्त्य गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन पालिकालाइ पत्राचार गरेको थियाे ।

डाेटीमा कम्तिमा पनि १ सयको हाराहारीमा छाउगोठ हुन सक्ने अनुमान छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया