विप्लव समूहका कार्यकर्ताद्वारा आत्मसमर्पण

 माघ ८, २०७६ बुधबार २०:१५:१५ | रासस
unn.prixa.net

बाग्लुङ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा आत्मसमर्पण गर्नुभएको छ ।

बाग्लुङ नगरपालिका-४ का ४५ वर्षीय सापकोटाले बुधबार चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउनुभएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गर्नुभएको हो ।

सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उहाँलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।

आत्मसमर्पणसँगै सापकोटा १० रुपैयाँ हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिनुभयो । ‘प्रतिबद्धताविपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उहाँले पछि सफाइ पाउनुहुन्छ‘, निमित्त प्रजिअ पन्तले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया