नगरपालिकाको ढाटमा ढाँट !

 माघ १७, २०७६ शुक्रबार ९:५६:४१ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – पाँच पटक टेन्डर निकाले पनि कोही टेन्डर हाल्न नआएपछि आफै कर उठाउँदै आएको नमोबुद्ध नगरपालिकाको ‘ढाट’ मा अनियमिता भएको खुलासा भएको छ ।

नमोबुद्ध नगरमा राखिएको ढाटबाट गाडीलाई एउटा बिल तथा नगरमा अर्काे बिल बुझाएको भेटिएको हो । नगरपालिकाले तोकेको मापदण्डअनुसार सेवाग्राहीसँग लिने तर नगरपालिकामा बुझाउँदा कम रकमको अर्धकट्टी बुझाउने गरेको खुलासा भएको छ । 

सेवाग्राहीसँग तीन हजार रुपैयाँ लिए पनि नगरपालिकामा बुझाउँदा एक हजार रकम मात्र उल्लेख भएको भर्पाइ भेटिएको छ ।  

नगरपालिकाले पास गरेको आर्थिक ऐनमा उल्लेख भएअनुसारको ढुङ्गा, गिट्टी, बालुवा, स्लेट र रोडा प्रति क्युफिट ९ रुपैयाँ, माटोको प्रति क्युफिट दुई रुपैयाँ ५० पैसा, स्लेट र बिछ्याउने ढुङ्गाको प्रति क्युफिट ९ रुपैयाँ लिने निर्णय गरेर नगरपालिका आफैले ढाट राखेर कर उठाउँदै आएको थियो । 

यो दरअनुसार सामान्य गाडीमा सामान ल्याउँदा पनि दररेट अनुसार एक हजार पाँच सय रुपैयाँ पर्छ । तर ठूला टिप्परहरुलाई तीन हजार रुपैयाँ लिने गरे पनि नगरपालिकामा बुझाएको रसिदमा भने एक हजार जनाएर बुझाएको रसिद भेटिएको छ ।

एउटै नम्बर, एउटै बेहोरा तर गाडी नम्बर फरक र रकम फरक राखेर नगरपालिकामा बुझाएको प्रमाण प्राप्त भएको छ । नमोबुद्ध नगरबाट मात्र दैनिक एक सय भन्दाबढी टिप्पर गुड्ने गर्छन् । 

कार्यपालिकाको पुस २७ गते बसेको बैठकमा वडाध्यक्षहरुले राजश्व सङ्कलनमा हिनामिनासम्बन्धी प्रश्न उठाएपछि नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ढाटमा खटिएका कर्मचारी कमल कुईंकेललाई बोलाएर सामान्य सोधपुछ गर्नु भएको बुझिएको छ । तर सोधपुछ भए पनि कसैलाई पनि जानकारी नगराएको नमोबुद्ध नगरले पत्रकारहरुले थाहा पाएर बिल ट्याली गर्न मागेपछि मात्र नगरले ‘एक्सन’ लिएको थियो । 

पत्रकारहरुले खोजी गरेपछि नगरप्रमुखले ढाटमा अनियमितता भएको विषयमा छानबिन गर्न लागेको बताउनु भयो । नगर प्रमुख शर्माले अनियमितता भएको कुरा आएपछि ढाटमा बस्ने कर्मचारी नै परिवर्तन गरेको जानकारी दिनुभयो ।

गएको वर्ष चार करोड रुपैयाँमा ठेक्का दिएको नगरपालिकाले यस वर्ष ६ करोड रुपैयाँमा ठेक्का दिन सूचना निकालेको थियो । ६ करोड रुपैयाँ राखेर पटक पटक सूचना निकाल्दा पनि कोही हाल्न नआएको भन्दै नगर आफैले ढाट राखेर राजश्व उठाउँदै आएको थियो । यो वर्ष ६ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको नगरले ६ महिना बित्दा एक करोड ९४ लाख रुपैयाँ सङ्कलन भएको जनाएको छ । 

अनियमितता छानबिन गर्न समिति

ढाटमा अनियमितता भएको भन्दै सत्य, तथ्य छानबिन गर्न नगरपालिकाले आर्थिक समितिका संयोजक रामकृष्ण अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडाध्यक्षहरु धर्म सिंह लामा र सञ्जिव ढकाल, सदस्य सचिव लेखा शाखाका कर्मचारी राजिव श्रेष्ठ रहेको समति गठन गरिएको छ । माघ १५ गते बसेको कार्यपालिका बैठकले छानबिन गर्न समिति बनाएको नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया