बेलैमा उपचार गरे निको हुन्छ क्यान्सर

 माघ २२, २०७६ बुधबार १४:४५:२० | विना न्याैपाने
unn.prixa.net

वीर अस्पतालमा भेटिएकी ललितपुर सानेपाकी ५३ वर्षीया केसरी सिंह निकै प्रसन्न मुद्रामा देखिनु हुन्थ्यो । ‘४ वर्ष पहिले क्यान्सर देखियो, अहिले निको भयो,’ उहाँले भन्नुभयो, ‘डरलाग्दो रोग भनेर सुरुमा निकै डराएँ, अहिले स्वस्थ छु, रोगले छोडिसक्यो ।’

सुरुमा उहाँ उपचारको लागि निजी अस्पताल पुग्नुभएको थियो । 'क्यान्सर छ, बेलैमा आउनुभयो भनेर डाक्टरहरुले भने,’ उहाँले विगत सम्झेर आँसु झार्दै भन्नुभयो, ‘घरमा कसरी भनौं भन्ने भएको थियो । तर अब कति नै बाँच्छु र ? भनेर एक दिन सासूआमालाई सुनाएँ । उहाँले 'तँ! पीर नगर म ठिक बनाउँछु' भन्नुभयो । साँच्चै सासु होइन, आफ्नै आमाले भनेको जस्तो लागेको थियो ।’ 

सिंहको स्तन क्यान्सर दोस्रो चरणमा पुगेको रहेछ । ह्याम्स अस्पतालमा उहाँको शल्यक्रिया भयो । ‘अब ठिक हुन्छ, आत्तिनु पर्दैन भनेर डाक्टर अम्बुज कर्णले पनि मलाई धेरै सम्झाउनुभयो । निको हुन्छ भनेर विश्वास गरेको थिइनँ । तर क्यान्सर रोग निको हुन्छ भनेर फेरि प्रमाणित भएको छ । घर परिवारको साथ र सहयोगले धेरै हौसला मिल्यो’ उहाँले भन्नुभयो । श्रीमानकाे मायाले पनि क्यान्सरलाई जितेकोे उहाँले बताउनुभयो ।  

सिंह अहिले नियमित जाँच गराउनुहुन्छ र ६/६ महिनामा फलोअपको लागि पनि जानुहुन्छ । जम्मा ६ पटक 'केमो' चढाएको छ उहाँलाई । उहाँ पहिलेको जस्तै स्वस्थ अवस्थामा पुग्नुभएको छ ।

पोखराका  ५८ वर्षीय धनबहादुर केसी कलंकीमा कानुनी सेवामा संलग्न  हुनुहुन्छ । हँसिलो अनुहार, छरितो शरीर भएका उहाँलाई कसैले क्यान्सरको बिरामी हो भनेर भन्न सक्दैन । उहाँलाई क्यान्सर भएको १३ वर्ष भयोे । अहिले पूरै ठिक हुनुभएको छ । 

उहाँलाई पहिला खकारमा रगत आयो । त्यसपछि उपचारको लागि काठमाण्डौको नाम चलेको निजी अस्पतालमा जानुभयो । तर रोग बीसको उन्नाइस भएन । उल्टै भारतको राजीव गान्धी अस्पतालमा रिफर गरियो । ‘त्यसबेला जनआन्दोलन चलेकोले भारत जान सकिनँ । भरतपुरको क्यान्सर अस्पताल गएँ’ उहाँले भन्नुभयो । 

डाक्टरका अनुसार उहाँलाई फोक्सोको क्यान्सर भएको रहेछ । फोक्सो पूरै बिग्रिएर उहाँको मेरुदण्डको तीन वटा हड्डीलाई समेत असर गरेको थियो । मुहारबाट नै उहाँको पीडा महसुुस गर्न सकिन्थ्यो ।  

‘भरतपुर अस्पतालमा शल्यक्रिया भयो । किमोथेरापीको लागि काठमाण्डौ आएँ । नौ पटक किमो चढाएपछि अहिले पूरै ठिक भएको छु,’ केसीले भन्नुभयो । उहाँलाई फलोअपमा पनि जानुपरेको छैन । 

क्यान्सर निको हुन्छ

क्यान्सरलाई सञ्चो नहुने रोग भनेर धेरै जनाले बुझे पनि पछिल्लो समय उपचार प्रविधिको विकासले फड्को मारेको छ । त्यसैले समयमै अस्पताल गए क्यान्सर निको हुन्छ । 

वीर अस्पतालमा कार्यरत डाक्टर सन्ध्या चापागार्ईंका अनुसार नेपालमा महिलामा सबैभन्दा धेरै देखिने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा बर्सेनि महिलामा दुई हजार तीन सय ३२ जनामा क्यान्सर लाग्ने गरेकोे छ । तीमध्ये १ हजार ३ सय ६७ जनाकोे मृत्यु हुने गरेको छ । ढिलो उपचार गराउन आउने र रोग लुकाएर बस्ने प्रवृत्तिले जोखिम बढ्दै गएको डाक्टर चापागाईंले बताउनुभयो ।

विकसित देशमा पाठेघरको मुखको क्यान्सरको जोखिम घट्दै गए पनि नेपालजस्तो विकासोन्मुख देशमा यसको जोखिम बढ्दै गएको उहाँको भनाइ छ । ‘यो रोग लाग्नै नदिन सकिन्छ, लागेमा पूर्ण निको हुनसक्छ,’ उहाँले भन्नुभयोे, ‘तर बेलैमा परीक्षण गर्न नआउँदा जोखिम बढेको छ ।’

क्यान्सर रोग विशेषज्ञ डाक्टर अम्बुज कर्णका अनुसार पुरुषमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । ‘यो क्यान्सर नेपालमा पहिलो नम्बरमा पर्दै आएको छ,’ उहाँले भन्नुभयोे, ‘फोक्सोको क्यान्सरबाटै धेरै पीडित छन् । ढिलो पहिचान, अस्वस्थ खानपिन र खराब जीवनशैलीले जोखिम बढाएको छ ।’ उहाँका अनुसार बेलैमा परीक्षण र उपचार गराए यो रोग निको हुन्छ । 

‘सचेतनाको खाँचो छ, उपचारबाट निको भएका बिरामीसहितको समाज नै गठन गर्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘त्यही समाजमार्फत रोग निको हुन्छ भन्ने सन्देश दिने हो भने अझै प्रभावकारी हुन्छ ।’ 

उहाँका अनुसार विवाह भएको ३ वर्षपछि क्यान्सरको परीक्षण गर्नुपर्छ र एक पटक परीक्षण गराएपछि ५ वर्ष परीक्षण गर्नु पर्दैन । पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन गरिने परीक्षण हरेक महिलाले गर्नुपर्ने उहाँले बताउनुभयो । 

सङ्क्रमणबाट रोक्न सकिन्छ 

ताजा मासु खानु हुँदैन । तर फ्रिजमा कम्तीमा २४ घण्टा राखेर खाँदा मासुमा रहेको ब्याक्टेरिया नष्ट हुन्छ । काँचो सागमा लिभर जुका हुन्छ । काँचो साग खाँदा त्यो जुकाको संक्रमणले कलेजोको क्यान्सर गराउँछ । 

महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा र धेरै बच्चा जन्माउँदा भित्री अङ्गमा हुने संक्रमण पाठेघरको मुखको क्यान्सरमा परिणत हुन्छ । 

खानपिन र जीवनशैलीमा ध्यान नदिँदा विश्वमा क्यान्सरको जोखिम बढेको छ । खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिन्छ । पहिलो चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ । 

अहिले विश्वमा बर्सेनि १ करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको छ । विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण भइरहेको छ । 

नेपालमा हरेक वर्ष १ लाखमा १ सय २० जनामा क्यान्सर हुने गरेको अनुमान गरिएको छ । महिलामा दुई हजार तीन सय ३२ जनामा  क्यान्सर लाग्ने गरेको पाइएको छ । 

तीमध्ये १ हजार तीन सय ६७ जनाकोे मृत्यु हुने गरेको छ । ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया