बाजुरामा रुघाखोकी र ज्वरो प्रभावित ३ सय १५ जनाको उपचार, अन्य ठाउँमा पनि बिरामी बढ्दै

 माघ २३, २०७६ बिहिबार ९:१३:६ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराकाे रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा बिरामीकाे उपचार थालिएको छ । बुधबार औषधिसहित पुगेको डाक्टरको टोलीले एक दिनमै ३ सय १५ जनाको उपचार गरेको छ ।

डाक्टरकाे टोलीले हिमाली गाउँपालिकामा दुई सय ५० जना र स्वामीकार्तिक खापार गाउँपालिकामा ३५ जना बिरामीको उपचार गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चिसोका कारण बाजुराका अरु ठाउँमा पनि भाइरल ज्वरोका बिरामी बढिरहेका स्वास्थ्यकर्मीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेको र जिल्लाबाट थप टोली सम्बन्धित क्षेत्रमा पठाएको जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीका अनुसार मैसमी रुगाखोकी र भाइरल ज्वरो इन्फ्लुएन्जाका कारण सबैजसो गाउँले बिरामी परेका छन् ।

एक हप्तादेखि फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणमा नआएपछि बुधबारमात्रै स्वास्थ्य कार्यालय बाजुराले एक जना डाक्टरसहित तीन जनाको टोली प्रभावित क्षेत्रमा पठाएको थियो ।

ज्वरो र रुघाखोकी लागेका दुई जना बिरामीको भने बुधबार ज्यान गएको छ । स्वामीकार्तिक खापर गाउँपालिका १ जोरुका ९० वर्षीया दल रावल र ५५ वर्षीया प्रेमा कडाराको ज्यान गएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया