कस्तो मास्क रोज्ने ? कसरी लगाउने ?

 माघ २४, २०७६ शुक्रबार १३:२९:४४ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - कोराेना भाइरस सङक्रमणबाट बच्न मास्कको प्रयोग बढेपछि बजारमा यसको अभाव सुरु भएको छ । भारतले मास्कको निर्यात रोकेसँगै अभाव बढेको हो ।

भाइरसको महामारी बढ्दैै गएपछि सावधानी अपनाउन मास्कको प्रयोग गर्नुपर्ने भएकाले माग बढेको छ । सर्जिकल मास्क वा मेडिकल मास्कले किटाणु रोक्छ भन्दै डाक्टरले लगाउन सुझाव दिएका छन् । तर कतिपयलाई कसरी लगाउने, कस्तो मास्कले काम गर्छ, कुन  खालको मास्क  लगाउनेजस्ता विषय राम्ररी थाहा छैन । 

मास्कले कसरी काम गर्छ ? 

अहिले बजारमा धेरैखालको मास्क  पाइन्छ । त्यसमध्ये सर्जिकल मास्क आमनागरिकले धेरै प्रयोग हुने गरेका छन् । कपडाको मास्कले राम्ररी काम गर्दैन । त्यसैले सर्जिकल मास्कको प्रयोग बढेको छ । अर्काे, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एन नाइन्टिफाइब मास्क  ९५ प्रतिशतसम्म किटाणु रोक्ने भएकाले यसलाई एन नाइन्टिफाइभ भनिएको हो । यस मास्कको बनोट र काम पनि फरक किसिमको छ । 

मेडिकल मास्क 

यदि कुनै व्यक्तिलाई सङ्क्रमण भएको छ र रुघाखोकी वा श्वासप्रश्वाससम्बन्धी रोग लागेको छ भने खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा निस्किने सानासाना कणलाई रोक्ने काम यो मास्कले गर्छ । 

मेडिकल मास्कको सबैभन्दा महत्वपूर्ण काम भनेको एउटा बिरामी मान्छेबाट अर्कोमा यसले सङ्क्रमण सर्नबाट रोक्छ  । 

‘एन नाइन्टिफाइभ’ जस्तो मेडिकल मास्क प्रभावकारी छैन, तर राम्रोसँग लगायो भने यसले ७० देखि ८० प्रतिशत किटाणुलाई सर्नबाट रोक्छ । यसको प्रयोग गर्दा ठूलो खालको मास्क लगाउनु हुँदैन । यसले दुबैतिरबाट किटाणु छिर्न सक्ने हुन्छ ।  त्यसैले आफूलाई उपयुक्त हुने मास्कको प्रयोगा गर्नुपर्छ । 
बिरामी भेट्न जानुपर्ने भयो भने भेट्न जाने व्यक्तिले मास्क  लगाउनै पर्दछ । फेरि अर्काे बिरामी भेट्न जानुपर्दा मास्क फेर्नु पर्दछ । मेडिकल मास्क बिरामीले लगायो भने रोग अरुलाई सर्ने सम्भावना कम हुन्छ ।  

मास्कले गर्ने काम 

मेडिकल मास्कमा तीन वटा तह हुन्छ । सबै तहले गर्ने काम फरक फरक हुन्छ । 

–    सबैभन्दा बाहिरको तहमा पानी र थुक टाँसिदैन त्यसलाई रिपेल गर्छ  । 
–    बीचमा रहने तहलाई फिल्टर भनिन्छ, यसमा सानासाना जीवाणु र भाइरसलाई फिल्टर गर्ने क्षमता हुन्छ । 
–    भित्रको तहलाई हाइडोफिलिक तह भनिन्छ, यसले लगाएको व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा निस्किने थोपा वा कणहरुलाई रोक्ने गर्छ । 
–    यसले प्रदुषणलाई भने रोक्न सक्दैन । 
–    सकेसम्म एन नाइन्टिफाइभ मास्क  लगाउनुपर्छ । तर सामान्य अवस्थामा सर्वसाधारणले  मेडिकल मास्क  लगाउँदा पनि हुन्छ । 
तर सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा बस्ने व्यक्ति छ भने उसले एन नाइन्टिफाइभ मास्क  पूरै उपयुक्त तरिकाले लगाउनुपर्छ । 

मास्क  लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा  

बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ । 
यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ । 
मास्कको एउटा भागमा अलि कडा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ । 
मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन । 
मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।  
अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’  भनिन्छ, यसको व्यवस्थापन गर्न जान्नुपर्छ । 
कुनै बिरामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ । 

लगाउने समय  

‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ । 
यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन । 
एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।
साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ । तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।  
तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ । तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न । 
यो मास्क दम र श्वासप्रश्वासको बिरामीले भने लगाएर बस्नै सक्दैन । 

मेडिकल मास्क र एन नाइन्टिफाइभ मास्कबीचका भिन्नता 

१. गुणस्तरमा नै फरक हुन्छ । 
 २. एन नाइन्टि फाइभ मास्कले  नाम अनुसार नै काम गर्छ ।  ९५ प्रतिशत किटाणु रोक्ने भएकोले एन नाइन्टिफाइभ भनिएको हो । सय प्रतिशत काम गर्ने मास्क उत्पादन भएको छैन  । 
३. यदि सही तरिकाले प्रयोग ग¥यो भने साधारण मास्कले ७० प्रतिशतसम्म सङ्क्रमण रोक्न सक्छ ।  
४ बजार मूल्य पनि फरक छ । साधारण मेडिकल मास्क ५ रुपैयाँमा किन्न सकिन्छ भने एन नाइन्टिफाइभ मास्कको ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । यसको मूल्य पनि गुणस्तरअनुसार हुन्छ । 

(वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)  

अन्तिम अपडेट: बैशाख ७, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया