छोरो मलेसियामै रहेको खबर सुनेपछि कृष्णका बुवाआमा भन्छन् : पैसा चाहिँदैन, घर आउ छोरा

 फागुन ६, २०७६ मंगलबार ११:२५:३

धादिङ – धादिङका कृष्ण घले मलेसियामा हराएको समाचार उज्यालोमा पढेपछि मलेसियाबाट जीवन तामाङले कृष्णको बारेमा जानकारी दिनुभएको छ ।

उहाँले उज्यालोलाई दिएको जानकारी अनुसार कृष्ण घले मलेसियामा ग्यालेक्सी सेक्युरिटी फोर्स कम्पनीमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । छोरा मलेसियामै रहेको खबर सुनेपछि आमा सानुकान्छी घलेले छोरालाई छिटै घर आउन आग्रह गर्नुभएको छ ।

‘हामीलाई तिम्रो कमाइ चाहिँदैन, रित्तो हात आए पनि हुन्छ, हामी तिम्रो बाटो कुरिरहेका छौं छोरा,’ सानुकान्छीले आग्रह गर्नुभयो । कृष्ण घरको एक्लो छोरा हुन् । ७० टेकेका कृष्णका बुवा पर्वत घले पनि कृष्णलाई जतिसक्दो छिटो घर आउन आग्रह गर्नुहुन्छ ।

‘मेरो मर्नेबेला भइसक्यो, मर्नुअघि तिमीलाई भन्नुपर्ने कुरा छ छोरा, तिमी आउ,’ कृष्ण मलेसियामा रहेको खबर सुनेपछि पर्वतले भन्नुभयो । धादिङको धुनिवेशी नगरपालिका ५ का कृष्ण घले मलेसिया गएको ८ वर्ष भयो । तर आजसम्म फर्कनुभएको छैन ।

मलेसिया पुगेको दुई वर्षसम्म कृष्णले घरमा फोन गरिरहनुहुन्थ्यो । बेलाबेलामा पैसा पनि पठाउनुहुन्थ्यो । तर त्यसपछि कृष्ण एकाएक बेखबर हुनुभयो । घरमा श्रीमती र दुई छोराछोरी पनि कृष्णलाई कुरिरहेका छन् ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया