सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
कुइँकेलदेवी भगवती मन्दिरका पुजारी रंगप्रसाद उपाध्याय छाउपडीलाई घरभित्रै राख्ने गाउँकै पहिलो व्यक्ति हुनुहुन्छ । आजभन्दा १३ वर्ष पहिले उहाँले छाउगोठमा बसेकी बुहारीलाई घरभित्र राख्नुभयो ।
भान्छामा छाउपडी ल्याउँदा रंगप्रसादको मनले मानेकै थिएन । भान्छामा ल्याउनुभन्दा पहिले रंगप्रसादले देवतालाई चामलको दाना छुट्याएर प्रार्थना गर्नुभयो । ‘हे भगवान, मैले मेरो नातिनीलाई जोगाउन यो पाप गर्दै छु । गोठको चिसोमा बस्दा नातिनीको ज्यान खतरामा हुनेछ । त्यसैले यो मेरो बाध्यता हो ।’ यसमा आफूलाई कुनै दोष नहोस् भन्दै देवतालाई उहाँले भेटी चढाउनुभयो ।
तीन दिनको छाउ भएकी बुहारी ५ दिनसम्म तातो गरेर भान्छामै बस्नुभयो । तुलसी भान्छामा बस्दा छोरीलाई सञ्चो भयो । डरैडरले बुहारीलाई घरभित्र राखेको कुरा रंगप्रसादले गोप्य राख्नुभयो ।
एक महिनासम्म पनि परिवारमा कुनै अनिष्ट नभएपछि रंगप्रसादले अर्कोपटक पनि छोरीबुहारीलाई घरकै एक कोठामा राख्न थाल्नुभयो । छाउपडी गोठलाई भत्काएर शौचालय बनाउनुभयो ।