कसरी गरिन्छ कलेजो प्रत्यारोपण ?

 फागुन २०, २०७६ मंगलबार १५:१७:२८ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ - त्रि. वि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीकाअनुसार कलेजोमा धेरै खालका समस्या देखिने गरेका छन्।

केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही व्यक्तिका जीवनशैलीले निम्त्याउने गर्दछ । कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा विधिद्धारा उपचार गर्ने गरिन्छ ।

कलेजोको क्यान्सर र सिस्टहरुलाई  शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ । यस्तो  समस्यालाई सिरोसिस भनिन्छ । सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो ।  

नेपालमा सबैभन्दा बढी सिरोसिस हुने कारणहरुः  

- अत्यधिक मद्यपान गर्नु 

- हेपाटाइटिस बी रोग लाग्नु 

- कलेजोमा बोसो जम्नु

कहिलेकाहीँ कलेजो के कारणले बिग्रिन्छ भन्ने कुरा पत्ता लगाउनै सकिँदैन । कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा धेरै कारणहरु हुन सक्छन् । तीमध्ये हेपाटाइटिस बी को सङ्क्रमण पनि एक हो । 

त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ । 

कलेजो प्रत्यारोपण भनेको के हो ? 

सामान्य भाषामा भन्नुपर्दा जुन व्यक्तिलाई कलजो चाहिएको हो उसको कलेजोको बिग्रिएको भाग निकाल्नु पर्छ र त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशाहरु र पित्तनलीका नसाहरुलाई मिलाएर जोड्नुपर्छ यो प्रक्रियालाई कलेजो प्रत्यारोपण भनिन्छ । 

कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिन्छ र दिने व्यक्तिले कति दिँदा उसको स्वाास्थ्यमा असर पर्दैन भन्ने परीक्षण गरिन्छ । त्यसपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ । 

प्रत्यारोपण गरिएको कलेजो बन्न लाग्ने समय 

लिने व्यक्तिको शल्यक्रिया ठूलो र जटिल हुन्छ । दिने व्यक्तिको शल्यक्रया पनि लगभग जटिल नै हुन्छ । त्यसकारण दिने व्यक्तिलाई पनि एक, दुई दिन आइसियुमा राख्नुपर्ने डा. भण्डारी बताउनुहुन्छ । 

उहाँका अनुसार कलेजो दान गर्ने व्यक्ति शल्यक्रियापछि चारदेखि छ हप्तामा सामान्य अवस्थामा पुगेर दैनिक कार्यमा फर्किन सक्छ । कलेजो दिने व्यक्तिले आवश्यकताअनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ । दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ । 

कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई शल्यक्रियापछि एक हप्तासम्म आइसियुमा राखिन्छ । आइसियुबाट निकालिएको दुई वा तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । डाक्टरका अनुसार डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । 

प्रत्यारोपण गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु 

-  सबैभन्दा बढी सङ्क्रमण हुनबाट बच्ने ।

-  अस्पताल गएर नियमित जाँच गराउने ।

-  मद्यपान र धुम्रपानबाट टाढा बस्ने ।

-  चिकित्सकले दिएको औषधी ठिक समयमा सेवन गर्ने  ।

-  सकेसम्म घरबाट बाहिर केही समयसम्म ननिस्किने ।

-  बाहिर निस्किँदा मास्क प्रयोग गर्ने ।

-  भिडभाडमा नजाने ।

-  घरमै पनि सावधानीपूर्वक बस्ने ।

-  रुघाखोकीजस्ता सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा नजाने ।

-  खानपिनमा धेरै ख्याल गर्ने ।

-  औषधीको जथाभावी प्रयोग नगर्ने ।

-  शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउने


(विना न्यौपानेले त्रि. वि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीसँग गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत ११, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया