धाेनी फर्किएलान् त भारतीय टिममा ? चयन समितिकाे यस्ताे शर्त

 फागुन २६, २०७६ सोमबार २०:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को राष्ट्रिय चयन समितिको अध्यक्षमा दुई जना नयाँ सदस्य समावेश गरिएको छ । तर यो समितिले पनि भारतीय पूर्व कप्तान तथा विकेटकीपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीको भारतीय टिममा कमब्याक गर्ने विषयमा भने अझै प्रष्ट पारिसकेकाे छैन ।

बीसीसीआईका अधिकारीका अनुसार ‘यदि धोनीले भारतीय टिममा फर्कन चाहने हो भने आसन्न आईपीएल क्रिकेटमा राम्रो प्रदर्शन गर्नुपर्ने छ ।’ सुनिल जोशीको अध्यक्षतामा अहमदाबादमा बसेको पहिलो बैठकले दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि भारतीय टिमको घोषणा गरेको थियो । जसमा याे समितिले हार्दिक पाण्ड्या, शिखर धवन र भुवनेश्वर कुमारलाई टिममा बोलाएको छ ।

जोशीभन्दा पहिला एमएसके प्रसाद चयन समितिको अध्यक्ष हुँदा उनले भनेका थिए, ‘धोनीभन्दा भारतीय टिम धेरै अगाडि बढिसकेको छ । अब धोनी फेरि टिममा पर्नका लागि आईपीएलमा राम्रो गर्नुपर्ने छ ।’ यही कुरालाई अहिलेका अध्यक्ष जोशीले पनि दोहोर्‍याएका छन् । आईपीएल आउँदाे मार्च २९ तारिखदेखि सुरु हुँदैछ ।

आईपीएलका लागि धोनीले चेन्नई सुपर किङ्ग्सबाट तयारी सुरु गरिसकेका छन् । उनी एक दशकदेखि चेन्नईको कप्तानका रुपमा खेल्दै आएका छन् ।

भारतीय टिमका पूर्व कप्तान धोनीले गएकाे वर्षको जुलाईमा इङ्ग्ल्याण्डमा भएको विश्वकप क्रिकेटको सेमिफाइनलपछि खेलेका छैनन् । विश्वकपपछि उनी भारतीय टिमबाट टाढा रहँदै आएका छन् ।

बीसीसीआईका अधिकारीका अनुसार दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि टिमको चयन गर्दा धोनीको विषयमा कुनै पनि कुरा भएन । अहिलेका खेलाडीहरुको प्रदर्शनका आधारमा टिम चयन गरिएको थियो । चयन समितिका अनुसार आईपीएलमा धोनीको मात्रै नभइ अन्य खेलाडीहरुको प्रदर्शनका आधारमा भारतीय टिममा पर्ने ढोका खुल्ने छ । यदि उनीहरुले राम्रो खेल्न सके भने टिममा पर्न सक्छन् ।

भारतीय टिमले अहिले विकेटकीपर ब्याट्सम्यानको रुपमा केएल राहुल र ऋषभ पन्तलाई समावेश गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया