रोल्पामा फेरि ‘विप्लव समूह’ को चन्दा आतंक

 फागुन २८, २०७६ बुधबार १२:१७:३९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - सरकारले नेरविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्तालाई पक्राउ गर्न थालेपछि केही समय रोकिएको चन्दा आतंक फेरि सुरु भएको छ ।

जिल्लाका दुर्गम भेगका विद्यालयका शिक्षकहरुसँग तोकेरै चन्दा माग्न थालेको शिक्षकहरुको गुनासो छ । रोल्पा नगरपलिकाको जेदबाङ, कोटगाउँ र त्रिवेणी गाउँपालिकाको करेटीमा नयाँ, नयाँ नम्बरबाट फोन गर्दै चन्दा मागिरहेको शिक्षकहरुको गुनासो छ ।

‘हाम्रो स्कुलमा उहाँहरु आउनुभएको थियो, १२ दिनको पारिश्रमिक माग्नुभएको छ’, रोल्पा नगरपालिकाभित्र पर्ने एक विद्यालयका प्रधानाध्यापकले गुनासाे गर्नुभयाे, ‘अहिले तलब आएको छैन भनेर पठाएका छाैँ।’

यस्तै त्रिवेणी गाउँपालिकाको एउटा विद्यालयका प्रधानाध्याकको घरमा फोन गरी ज्यान मार्ने धम्कीसमेत दिएको पीडित परिवारले बताएका छन् । ‘तेरो श्रीमान खोई? स्कुलबाट फर्किँदा खोलामा मार्दिन्छौँ’, भन्दै पटक पटक फोनमा धम्की आएको उक्त प्रधानाध्यापकका श्रीमतीको भनाइ छ ।

९६८८८८५५५४ नम्बरको फोनबाट धम्की दिएको पीडितहरुको भनाइ छ । कतिपय विद्यालयका शिक्षकहरुले भने चन्दा दिइसकेको बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले पीडितहरु प्रहरीसम्म नआएको बताउनुभयो । ‘आतंकित पार्नका लागि धम्की दिने र चन्दा असुल्ने काम गरिरहेको हुनसक्ने भए पनि हामीले जानकारी पाएसम्म त्यस्ता कार्य रोक्छौँ’, गुरुङले भन्नुभयो, ‘हामीलाई जानकारी आएका जतिलाई चन्दा नदिन र सुरक्षाका लागि ढुक्क हुन भनेका छौँ ।’

जनताको सुरक्षाका लागि प्रहरी सधै तयार रहेकोले त्यस्ता कार्य रोक्नेसमेत उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया