म्याद गुज्रिएको तीन ट्रक भारतीय चिनी जलेश्वर भन्सारबाट भित्रियो

 फागुन २९, २०७६ बिहिबार १९:४३:५६ | केसी लामिछाने
unn.prixa.net

वीरगञ्ज - जलेश्वर भन्सार नाकाबाट उपभोग्य मिति सकिएको तीन ट्रक भारतीय चिनी नेपाल भित्रिएको छ । 

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले अयोग्य प्रमाणित गरेको चीनी जलेश्वर भन्सार कार्यालयले जाँचपास गरी नेपाल भित्रिन दिएको हो । 

गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा विदेशबाट भित्रिने सामान परीक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । तर त्यस विपरीत उपभोगका लागि अयोग्य चिनी जलेश्वर भन्सार कार्यालयले जाँचपास गरेर भित्रिन दिएको हो ।    

सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाण्डौ आयातकर्ता रहेको  ७२ हजार किलो चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो । 

राजस्व कार्यालय पथलैयाले यस विषयमा केही बोलेको छैन । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति सकिएको खाद्यवस्तुको आयात र जाँच पास दुवै गर्न नमिल्ने बताउनुभयो । 

उहाँले जलेश्वर भन्सारले चिनी जाँच पास गरेको आफूलाई जानकारी नभएको बताउँदै आयात निर्यात प्रमाणीकरण कार्यालयले चिनी उपभोगको लागि योग्य नरहेको घोषणा गरेपछि चिनी जाँचपास गर्न नमिल्ने बताउनुभयो । 

उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गरिने बताउनुभयो । सन् २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना रहेको उल्लेख गरिएको छ । 

उल्लेखित मितिअनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामा सकिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया