दोलखामा ३ कराेड रुपैयाँ बराबरकाे विद्युत् महसुल उठेन

 चैत २, २०७६ आइतबार १४:४७:२२ | उषा तामाङ
unn.prixa.net

दोलखा – दाेलखामा झण्डै तीन कराेड रुपैयाँ बराबरकाे विद्युत् महसुल उठ्न बाँकी रहेको दोलखा विद्युत् प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म दोलखाका विभिन्न किसिमका ग्राहकबाट दुई करोड ९५ लाख ५६ हजार दुई सय ६९ रुपैयाँ २४ पैसा उठ्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । 

विशेषगरी उद्योगी व्यवसायी र सर्वसाधारण ३० प्रतिशत ग्राहकबाट महसुल बापतको रकम उठ्न बाँकी छ  भने प्राधिकरण दोलखाका ७० प्रतिशत ग्राहकले नियमित विद्युत् महसुल तिर्दै आएको बताइएको छ । बैत्यश्वर, तामाकोशी र मेलुङ गाउँपालिकाका ग्राहकबाट विद्युत् महसुल नियमित भुक्तानी नहुने प्राधिकरणकाे भनाइ छ ।

विद्युत् महसुल लामो समयदेखि नतिर्ने एक सयभन्दा बढी ग्राहकलाई कालो सूचीमा राखिएको छ । तिर्न बाँकी रहेको विद्युत् महसुल समयमै तिर्न प्राधिकरण दोलखाले अनुरोध समेत गरेको छ । 

चालु आर्थिक वर्ष २०७६/०७७ को अहिलेसम्म आठ करोड ७२ लाख ९४ हजार आठ सय ९६ रुपैयाँ विद्युत् महसुल बापतको रकम सङ्कलन भएको प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया