अंश विवाद : बाबु र साैतेनी आमाकाे हत्या गरेकाे आरोपमा छोरा पक्राउ

 चैत ३, २०७६ सोमबार २०:१०:२१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरमा बाबु र सौतेनी आमाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका ११ मा दुई हप्ताअघि ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या आरोपमा मृतकका जेठा छोरा पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गर्दै डडेल्धुराको अमगढी नगरपालिका २ जुगेडा बस्ने भरतबहादुर भण्डारीले अंशको विवादका कारण बाबु र सौतेनी आमाकाे हत्या गरेको जनाएको छ । 

गएकाे फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा जयलाल र धनादेवीकाे आफ्नै घरमा शव फेला परेकाे थियाे । 

भण्डारी दम्पती हत्या प्रकरणमा छोरा भरतको संग्लनता देखिएकोले उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो । उहाँले अनुसन्धानका क्रममा विभिन्न तथ्यका आधारमा पक्राउ परेका भरतले बाबु र साैतेनी आमाको हत्या गरेको स्वीकार गरेको जानकारी दिनुभयाे ।  

प्रहरीका अनुसार गएकाे फागुन १३ गते दिउँसो मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिन भरत डडेलधुराबाट महेन्द्रनगर आएका थिए । उनले १४ गते परीक्षा दिएर घर फर्किन भनि अत्तरिया पुगेको र त्यहाँबाट फर्किएर कलुवापुरकाे घरमा आइ बाबु र सौतेनी आमाकाे हत्या गरेकाे बयान दिएका छन् ।

जयलाल भण्डारीकी जेठी श्रीमतीको तीन वर्षअघि क्यान्सरबाट निधन भएपछि २२ वर्षीया धनासँग विवाह गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत ११, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया