कोरोना सतर्कता : गड्डाचौकी नाकाबाट भित्रिनेकाे घुइँचाे, भारतीय नागरिक र गाडीलाई रोक

 चैत ८, २०७६ शनिबार ११:३०:४८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - पश्चिमी सीमानाका गड्डाचौकीमा भारतीय नागरिक र भारतीय नम्बर प्लेटका गाडीको आवागमनमा कडाइ गरिएको छ । जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णयअनुसार गड्डाचौकीबाट भित्रिने भारतीय नागरिक र भारतीय गाडीमा कडाइ गरेको हो । 

समितिकाे बिहीबार बसेकाे बैठकले नाकामा बढ्दै गएको चापलाई कम गर्न टाढा दूरीमा जाने भारतीय नागरिक र भारतीय नम्बर प्लेटका गाडीको आवागमनमा रोक लगाउने निर्णय गरेको थियो । 

समितिको निर्णय अनुसार शुक्रबारबाट नाकामा कडाइ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो । 

उहाँले केहि साना भारतीय जीप लगायतका गाडीहरुले दिल्ली, देहरादून लगायतका शहरहरु तथा सीमावर्ती बजारबाट अत्याधिक मात्रामा यात्रुहरु ओसोर्ने गरेकाले नाकामा हुने परीक्षणमा समस्या उत्पन्न नहोस् भनेर त्यस्ता गाडीहरुमा रोक लगाइएको बताउनुभयो । 

प्रशासनले यसअघि नै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै महेन्द्रनगरबाट भारतका विभिन्न शहरहरुमा चल्ने मैत्री बससेवा स्थगित गरेको थियो । बससेवा बन्द गरिएपनि साना गाडीको आवागमनमा भने कुनै रोक लगाइएको थिएन । तर, भारतीय नम्बर प्लेटका जीप, म्याजिक लगायतका सवारीसाधनले अनियन्त्रित रुपमा यात्रुहरु ओसार्न थालेपछि तिनमा रोक लगाइएको हो । 

जिल्ला प्रशासनले आधिकारिक रुपमा सो नाकामा सवारीसाधानको आवागमन गर्न शुक्रबार गृह मन्त्रालयमा पत्राचार समेत गरेको छ । 

‘हामीले सुरक्षा समितिको बैठकपछि त्यसको अनुसमतिका लागि केन्द्रमा लिखित अनुमति मागेका छौँ’, प्रमुख जिल्ला अधिकारी खतिवडाले भन्नुभयो ‘सचिवको मौखिक अनुमति छ, त्यसै अनुसार नै यो कदम चालेका हौँ । ’

उहाँले भारती सवारीसाधानमा रोक लगाइएपनि भारतका विभिन्न शहरबाट फर्किएका नेपालीहरुको आवागमनमा भने कुनै समस्या नरहेको बताउनुभयो । 

‘अहिले भारतीय गाडीले यात्रुहरुलाई सीमास्तम्भसम्म छोढ्ने गरेका छन्’, उहाँले भन्नुभयो ‘त्यहाँबाट हिडेर आउने यात्रुहरुलाई हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणपछि नेपाल भित्रिन दिने व्यवस्था मिलाएका छौँ ।’

प्रहरीले भने महेन्द्रनगरबाहेक नेपालका अन्य ठाउँमा जाने भारतीय नागरिकलाई समेत नाकामा रोक लगाइएको जनाएको छ । 

‘हामीले भारतीय गाडीमा मात्रै होइन भारतीय नागरिकमा पनि कडाइ गरेका छौँ’, कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासैनीले भन्नुभयो, ‘महेन्द्रनगरसम्म आएर फर्किने बाहेकका भारतीय नागरिकलाई अहिले नेपाल प्रवेशमा कडाइ गरिएको छ ।’

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि गड्डाचौकी नाकाबाट मात्रै दैनिक ५ हजार बढी नेपाली तथा भारतीय नागरिकहरु नेपाल भित्रिने गरेका थिए । यसैबीच, भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि रोगजारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु धमाधम घर फर्किन थालेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया