भारतमा 'जनता कर्फ्यु' : नेपाल भित्रिनेको चाप घट्यो

 चैत ९, २०७६ आइतबार ११:५४:१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी नाकामा भारतबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या घटेकाे छ । भारतमा आइतबार लगाइएकाे जनता कर्फ्युका कारण आइतबार गड्डाचौकी नाकाबाट भित्रिने नेपालीहरुको सङ्ख्यामा कमी आएको हो । 

आइतबार बिहान २ बजेदेखि नाकामा नेपाल भित्रिनेको चहलपहल देखिए पनि ८ बजेपछि भने बिस्तारै चाप घट्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा बढ्दै गएको कोरोनाको सङ्क्रमणका नेपाल भित्रिने नेपालीहरुको सङ्ख्या ह्वात्तै बढेको थियो । 

दैनिक पाँच हजारको सङ्ख्यामा भारतबाट नेपालीहरु नेपाल भित्रिने गरेका थिए तर नाकाबन्दीको हल्लापछि शनिबार भने १७ हजार बढी नेपालीहरु नेपाल प्रवेश गरेकाे गड्डाचौकी हेल्थ डेस्कको तथ्याङ्कमा उल्लेख छ ।

एकै पटक १०औँ हजारको सङ्ख्यामा नेपालीहरु भारतबाट फर्किएपछि सीमा नाका केही बेर अस्तव्यस्त बनेको थियो । शनिबार बिहानको भिडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अहिले सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएकाे छ ।

त्यस्तै भिडभाडका कारण जाँचमा समस्या नहोस् भनेर नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, भीमदत्त नगरपालिका र स्वास्थ्य कार्यालयको टोली समेत खटाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो ।  उहाँले नाकामा चाैबिसै घण्टा हेल्थ डेस्क राखिएकाले पनि आइतबार नेपाल भित्रिनेको सङ्ख्यामा कमी देखिएको बताउनुभयो  । 

उहाँका अनुसार स्थानीय प्रशासनले भारतबाट नेपाल भित्रिएका नेपालीकाे विस्तृत तथ्याङ्क टिपेर त्यसलाई बेबसाइटमा राख्ने तयारी समेत थालेको छ । 

यस नाकाबाट भित्रिएका नागरिकहरु घरमा पुगेपछि पनि उनीहरुको अवस्था पुनरावलोकन गर्न मिल्ने गरी नाम, ठेगाना सहितको विवरण चाँडै नै बेबसाइटमा राखिने खतिवडाकाे भनाइ छ ।

‘अहिले भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएका बेला यस नाकाबाट पनि हजारौँ नेपाली भित्रिएका छन्’, उहाँले भन्नुभयाे, ‘नाकामा उनीहरुको जाँच त हामीले गरेका छौँ तर त्यतिले मात्रै पुग्दैन । त्यसैले उनीहरुको विस्तृत विवरण सहित बेबसाइटमा राख्दा सम्बन्धित पालिका र स्वास्थ्य कार्यालयले पनि निगरानी गर्छ ।’

यसैबीच स्थानीय प्रशासनले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य नाकालाई पूर्णरुपमा बन्द गर्नुका साथै भारतीय नागरिकलाई नेपाल प्रवेश तथा नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएको छ । 

गड्डाचौकी नाकाबाट फागुन २३ गतेदेखि शनिबार रातिसम्म ६३ हजार एक सय ८५ जना नेपाली नेपाल भित्रिएको हेल्थ डेस्कले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया