आँखा अस्पतालको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिने

 चैत १२, २०७६ बुधबार १४:०:५४ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणलाई रोक्न मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवनलाई क्वारेन्टाइन बनाइने भएको छ । 

अस्पतालको भवन बनिसकेको भए पनि त्यो भवनमा अस्पताल सञ्चालन गर्न केही समय लाग्ने भएकाले खाली रहेको भवनलाई क्वारेन्टाइन बनाएर सेवा दिने निर्णय गरिएको नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो भवन क्वारेन्टाइन र आइसोलेशनको लागि उपयुक्त छ ।’

४२ कोठे भवनको पहिलो तलाको सम्पूर्ण काम सकिएको अस्पतालले जनाएको छ । माथिल्लो तलाको झ्यालहरुमा आल्मोनियमको पल्ला हाल्न बाँकी रहेकोले त्यसलाई तीनदेखि चार दिनसम्ममा सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने अध्यक्ष राउतको भनाइ छ । 

अस्पतालको भवनलाई आइसोलेशनको रुपमा प्रयोग गर्ने हो भने पनि ५० जना बिरामी सजिलै राखेर उपचार गर्न सकिने उहाँले बताउनुभयो । 

महामारी नियन्त्रणका लागि सबैको भूमिका अपरिहार्य भएकाले अस्पतालको कार्य समितिले यो निर्णय गरेको हो । निर्णय प्रदेश नम्बर १ मुख्यमन्त्री कार्यालयमा पठाइसकिएको र प्रदेश सरकारले पनि भवन प्रयोग गर्न सक्ने जनाएको अध्यक्ष राउतले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया