पाँचथरमा केही पालिकाले निःशुल्क मास्क बाँड्दै, केहीले मजदुरहरुलाई खानपानको व्यवस्था गर्दै

 चैत १६, २०७६ आइतबार ६:४१:१३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – ‘लकडाउन’का कारण मजदुरहरुको जीविकोपार्जनमा समस्या भएपछि पाँचथरको फिदिम नगरपालिकाले मजदुरहरुलाई खानपानको व्यवस्था गर्नको लागि लगत सङ्कलन सुरु गरेको छ । नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले दैनिक गुजारा टार्न नै समस्यामा परेकाहरुलाई सहयोग गर्ने बताउनुभयो । 

पाँचथरका पालिकाहरुले कोरोना नियन्त्रण तथा उपचारको लागि कोष बनाएर विभिन्न तयारीको काम गरिरहेका छन् । त्यस्ता कोषहरुमा कतिपय पालिकाका जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधाबाट भए पनि रकम जम्मा गर्ने बताएका छन् भने सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् । 

हिलिहाङ गाँउपालिकाका जनप्रतिनिधिहरुले आफूले पाउने सेवा सुविधाबाट १५ दिनको रकम विपद् कोषमा जम्मा गर्ने भएका छन् । हिलिहाङले २५ शय्या क्षमताको क्वरेण्टीन पनि बनाएको छ । 

तुम्बेवा गाउँपालिकाले आफ्नै लगानीमा पालिकामै मास्क (मुखावरण) उत्पादन गरी पालिकावासीलाई निःशुल्क वितरण गरिरहेको पालिका अध्यक्ष होम थापाले बताउनुभयो । त्यस्तै मिक्लाजुङ र कुम्मायक गाउँपालिकाले पनि निःशुल्क मास्क वितरण गरिरहेका छन् । फाल्गुनन्द गाउँपालिकाले विपद् समन्वय कोषबाट विपन्न तथा मजदुरहरुलाई सहयोग गर्ने तयारी भएको अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताउनुभयो । 

पालिकाहरुले विभिन्न शहर तथा विदेशबाट आएकाहरुमाथि निगरानी बढाइरहेका छन् । उनीहरुलाई केही समय सुरक्षित भएर छुटै बस्न पालिकाहरुले आग्रह गरिरहेका छन् । साथै पालिकाहरुले हात धुने, माक्स लगाउने, मानिसबीच दुरी कायम गर्ने जस्ता अनुरोध गरिरहेका छन् । गाउँघरमा खेतीपाती लगायतको काम भइरहेको भए पनि समूहमा काम नगर्न र समूहमा भेला भएर नहिँड्न पनि पालिकाहरुले अनुरोध गरिरहेका छन् । 

सबै पालिकाहरुले क्वरेण्टीन तथा आइसोलेशन वार्ड निर्माण गरे पनि आवश्यक उपरकण तथा औषधिको भने अभाव देखिएको छ । कोरोना भाइरस (कोभिड १९) का सम्भावित बिरामीको जाँच तथा उपचारको लागि स्वास्थ्यकर्मीले लगाउने पीपीई सेट, मास्क, पञ्जा, स्यानिटाइजर लगायतको अभाव रहेको समर्पित अस्पतालका व्यवस्थापक शिशिर आङबोले बताउनुभयो । 

पाँचथरमा लकडाउनको पालना भइरहेको प्रहरीले जनाएको छ । यातायात ठप्प जस्तै छ भने पसलहरु समेत बन्द रहेका छन् । लकडाउनको पालना नगर्नेलाई कारबाही गरिएको र धेरैजसोले पालना गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया