कोरोनाविरुद्धको औषधि छैन तर पनि पौने २ लाख मानिस उपचारपछि स्वस्थ

 चैत १९, २०७६ बुधबार १४:७:४० | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) विरुद्धको औषधि वा खोप बनेको छैन । औषधि र खोप बनाउन विभिन्न देश लागि परेका छन् । तर अहिले कोरोनाको सङ्क्रमणबाट अस्पताल भर्ना भएकाहरुको उपचार लक्षणको आधारमा भइरहेको छ ।

कोरोना सङ्क्रमितको उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देशसँग दिशा निर्देश तयार पारेको छ । जस अनुरूप अलग अलग लक्षण अनुसार उपचार विधि पनि फरक पारिएको र औषधिको मात्रा पनि फरक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

साधारण खोकी, चिसो महसुस भएको र ज्वरो आएका बिरामीलाई तत्काल अस्पताल भर्ना गर्नुपर्दैन । उनीहरुको घरमै राखेर उपचार गर्न सकिन्छ । तर जसलाई निमोनिया वा कडा खालको निमोनिया भएको छ, श्वासप्रश्वासमा समस्या भएको छ, मिर्गौला वा मुटुको समस्या छ वा अरु कुनै प्राणघातक समस्या भएको बिरामी छ भने तत्काल अस्पताल लैजानुपर्नेमा विश्व स्वास्थ्य सङ्गठनले जोड दिएको छ ।

यसैगरी औषधिको मात्रा र कुन औषधि कस्ता बिरामीलाई दिने भन्नेबारेमा पनि डब्ल्यूएचओले निर्देशन दिएको गरेको छ ।

कुनै पनि डाक्टरले आफ्नो इच्छा अनुसारको औषधि कसैलाई पनि दिन पाउँदैन । डब्ल्यूएचओका अनुसार अस्पतालमा भर्ना भएका बिरामीलाई लक्षणको आधारमा औषधि दिने काम भइरहेको छ । यस्तै उनीहरुको रोग प्रतिरोधात्मक क्षमताले पनि भाइरससँग लड्ने कोसिस गर्नेछ ।

अस्पताल भर्ना भएका बिरामीलाई डाक्टरको निगरानीमा छुट्टै उपचार कक्षमा एक्लै राखिन्छ, जसकारण उसमा अरु भाइरसले आक्रमण गर्न पाउँदैन । गम्भीर समस्या भएका बिरामीमा भाइरसका कारण निमोनिया बढेर फोक्सोमा पोल्ने समस्या पनि हुन सक्छ । यो अवस्थामा बिरामीलाई सास फेर्न समस्या हुन्छ । अवस्था नाजुक भएपछि उनीहरुलाई अक्सिजन दिएर राखिन्छ । त्यसो गर्दा पनि समस्या भए भ्यान्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

एक अध्ययनका अनुसार चारमध्ये एक जनालाई भ्यान्टिलेटरमै राख्नुपर्ने अवस्था आउन सक्छ ।

बीबीसीको एउटा रिपोर्टमा युनिभर्सिटी अफ् नटिङघमका भाइरोलोजिस्ट प्रोफेसर जोनाथन बालका अनुसार बिरामीमा सास फेर्न समस्या आए समर्थन प्रणाली आवश्यक पर्छ । यसले अर्को अङ्गमा पर्ने दबाबबाट राहत मिल्नेछ ।

यस्तै रक्तचाप घटबढ भइरहेको मध्यम लक्षण देखिएका बिरामीलाई इन्ट्राभेनस ड्रिप लगाउन सकिनेछ । यस्तै पखला लागेको व्यक्तिलाई तरल पदार्थसँगै दुखाइ कम गर्ने केही औषधि खान दिन सकिन्छ ।

खोप वा औषधि कहिलेसम्म आउँछ ?  

कोरोना भाइरसको उपचारको लागि खोप कहिलेसम्म आउँछ भन्नेमा स्पष्ट सीमा अझै पनि तयार भएको छैन । विभिन्न देश कोरोनाबाट बच्नको लागि औषधि बनाउन लागि परेका छन् तर सफलता हात परेको छैन ।

यसअघि फैलिएको सार्स भाइरसविरुद्ध पनि कुनै खोप बनिसकेको छैन । यो अवस्थामा कोरोना भाइरको औषधि छिट्टै बन्नेमा संशयको अवस्था उत्पन्न भएको छ ।  

अर्कोतर्फ लक्षणको आधारमा भइरहेको उपचारले कोरोना सङ्क्रमण भगाउन सकिने र केही मानिस निको पनि भइरहेकाले छुट्टै औषधि किन बनाउनुपर्यो भन्ने आवाज पनि उठ्न थालेको छ । यसको जवाफमा विशेषज्ञ भन्छन्, 'कोरोना भाइरसको उपचार खोजियो भने भविष्यमा यसलाई फैलनबाट रोक्न सकिन्छ ।'

तर कोरोना भाइरसले तीव्र गतिमा आफ्नो आकार बदलिरहेकाले पनि उपचारको लागि आवश्यक औषधि बनाउन सजिलो नभएको विज्ञको भनाइ छ ।

अरु केही औषधिले कोरोना रोकथाममा केही सहयोग गरे पनि त्यो सटिक नभएकाले कोरोनाविरुद्धकै औषधि आवश्यक रहेको उनीहरुको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले कोरोनाको सङ्क्रमणनाट टाढै राख्न स्वास्थ्यकर्मीलाई हाइड्रोक्सी क्लोरोक्वीन दिइएको छ ।

अहिले विशेषगरी आईसीयूमा रहेका कोरोना सङ्क्रमितको एन्टी भाइरल, एन्टी बायोटिक्सको मद्दतले उपचार भइरहेको छ । तर रोग प्रतिरोधात्मक क्षमता धेरै भएका व्यक्ति भने आफै निको भइरहेका छन् । 

भारतमा कोरोना सङ्क्रमितलाई एचआईभी एन्टी ड्रग दिइयो

भारतको जयपुर शहरको सवाई मान सिंह अस्पतालमा भने तीन जना कोरोना सङ्क्रमितलाई एचआईभी एन्टी ड्रग लोपिनाभिर र रिटोनाभिर एन्टी ड्रग दिएपछि कोरोना नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतका विशेषज्ञले कोरोना भाइरस र एचआईभी भाइरस एकै खालको आणविक संरचना भएकाले बिरामीलाई एन्टी ड्रग दिन सकिने बताएका थिए । सन् २००३ मा फैलिएको सार्स भाइरसको उपचारमा पछि यही औषधिको प्रयोग गरिएको थियो । त्यतिबेला गरिएको अध्ययनले सार्स सङ्क्रमित धेरै एचआईभी सङ्क्रमित रहेका र उनीहरुले खाइरहेको औषधिका कारण नै निको भएका पाइएको थियो ।

प्रोफेसर जोनाथन बाल पनि सार्स र कोरोना लगभग एकै खालको भएकाले एउटै औषधि उपयोगी हुने बताउँछन् । तर यो औषधिको पनि सीमा तोकेर गम्भीर प्रकृतिका बिरामीमा मात्र प्रयोग गर्नुपर्नेमा उनको जोड छ । 
तर तीन/चार जना मात्रै निको हुँदा औषधिले काम गरेको दाबी गर्न नसकिने विज्ञहरुले बताएका छन् ।

कोरोनाको सङ्क्रमण अहिलेसम्म विश्वका दुई सय तीन देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । जसका कारण आठ लाख ६० हजार एक सय ६ जना सङ्क्रमित भएका छन् भने एक लाख ७८ हजार चार सय ३८ जना उपचारपछि निको भएका छन् ।

६ लाख ३९ हजार तीन सय ३४ जनाको उपचार भइरहेको छ । ४२ हजार तीन सय ४४ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया