‘पाहुनासँगै कोरोना पनि आउन सक्छ, ओहोरदोहोर नगर्नुस्’

 चैत २४, २०७६ सोमबार ९:५८:१० | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – लकडाउनका बेला पाहुना लाग्न जाने र पाहुना बोलाउने गरेको पाइएको भन्दै सरकारले त्यसो नगर्न अनुरोध गरेको छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले पाहुनासँगै कोरोना पनि भित्रिन सक्ने भएकाले सचेत हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनाको सङ्क्रमण कसैमा भए त्यो अर्को व्यक्तिमा पनि सजिलै सर्न सक्ने भएकाले अहिले पाहुना लाग्न जाने र पाहुना बोलाउने समय नभएको बताउनुभयो ।

कोरोनाको सङ्क्रमण फैलन नदिन नै सरकारले लकडाउनको घोषणा गरेकाले पालना गर्न उहाँले आग्रह गर्नुभएको छ । तरकारी, फलफूल लगायतका अति आवश्यक सामग्री किन्न जाने भन्दै मानिसहरु निस्कने गरेकाले रोक्न नसकिएको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्माले बताउनुभयो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषणा गरेर अति आवश्यक नपरि घरबाहिर ननिस्कन भनेको छ । तर केही व्यक्ति घरमा एक्लै बस्न मन नलागेको भन्दै आफन्तकोमा जाने र आफन्तलाई बोलाउने गरेको गुनासो आएको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया