एक दर्जन प्रयोगशाला थपियो, ४ हजार २ सय २६ जनाको परीक्षण सम्पन्न

 चैत ३०, २०७६ आइतबार १०:५२:३५ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ–सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण देशका विभिन्न १३ स्थानबाट गर्न थालेको छ । सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै परीक्षण हुने गरेकोमा पछिल्लो समय बिस्तार गरेर १३ स्थानबाट कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, प्रादेशिक प्रयोगशाला सुर्खेत, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला चितवनबाट पनि परीक्षण सुरु गरिएको छ । 

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, काठमाण्डौ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल, जनकपुर प्रादेशिक अस्पताल जनकपुर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, वीर अस्पताल काठमाण्डौ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना परीक्षण भैरहेको छ । 

अहिलेसम्म सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३ हजार ३ सय ९२ जनाको परीक्षण गरिएकोमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको माघ ९ गते कोरोना पुष्टि भएका एक जना पुरुष उपचारपछि निको भएका छन् भने अरु ८ जनाको उपचार चलिरहेको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई दुई जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म पोखरामा २ सय ५४, धरानमा १ सय ६८, धुलिखेलमा १ सय ४६, सुर्खेतमा १ सय १४, हेटौँडामा १ सय ११, चितवनमा ९९, भैरहवामा ५८, जनकपुरमा ३७ र काठमाण्डौको वीर अस्पतालमा ४ जना गरी ४ हजार २ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ । आजदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पनि कोरोना परीक्षण थालिएको अस्पतालले जनाएको छ । 

यी सबै प्रयोगशालामा पोलिमेरास चेन रियाक्सन (पिसिआर) विधिबाट नमुना परीक्षण भैरहेको छ । पिसिआर वंशाणुमा आधारित परीक्षण विधि हो जसमा नाक वा घाँटीको स्वाब वा र्यालको नमुना लिइन्छ । कोरोना भाइरसले मान्छेको सम्पूर्ण श्वासप्रश्वास प्रणालीमा असर गर्ने भएकोले पिसिआर विधि प्रभावकारी भएको सरुवा रोग विशेषज्ञ बताउँछन् । 

यस्तै सरकारले अहिले सङ्क्रमितको अवस्था थाहा पाउनको लागि ‘र्यापिड किट’बाट परीक्षण गरिरहेको छ । ‘र्यापिड किटबाट परीक्षण गर्दा केही मिनेटमै नतिजा आउँछ । यो एकैपटक धेरै जनामा गर्न सकिन्छ । तर र्यापिट किटबाट परीक्षण गर्दा कोरोना भएको पाइए पिसिआर विधिबाट परीक्षण गरिन्छ ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । 

देवकोटाका अनुसार सातै प्रदेशमा रहेका क्वरेण्टीनमा २९ हजार ३ सय ५६ वटा बेड छन् । ती क्वरेण्टीनमा अहिले ८ हजार ८२ जना रहेका छन् । सबैभन्दा धेरै सुदूरपश्चिममा २४ सय ८४ जना व्यक्ति क्वरेण्टीनमा रहेका छन् ।

कोरोनाको लक्षण मिलेपछि बिरामीलाई डाक्टरको निगरानीमा आइसोलेसनमा राखिन्छ भने कोरोना सङ्क्रमणको जोखिममा रहेका व्यक्तिलाई क्वरेन्टीनमा राखिन्छ । सरकारसँग अहिले १७ सय ३८ वटा पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) रहेको र अरु पीपीई ल्याउने प्रक्रियामा रहेको सरकारले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया