कोरोना भाइरस : २० लाखभन्दा धेरै सङ्क्रमित, कुन देशमा कति ?

 बैशाख ३, २०७७ बुधबार ११:१३:३९ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २० लाख पुगेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको भाइरसका कारण यो खबर तयार पार्दासम्म २० लाख ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमितमध्ये चार लाख ८४ हजार पाँच सय ९७ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । १३ लाख ८८ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ । अहिलेसम्म एक लाख २६ हजार सातभन्दा बढीकाे ज्यान गएकाे छ । कोरोना सङ्क्रमणको प्रभाव सबैभन्दा धेरै युरोपमा परेको छ । त्यसपछि उत्तर अमेरिका, एसिया, पश्चिम अमेरिका र अफ्रिका प्रभावित भएका छन् । 

युरोप 

युरोपमा मात्रै अहिलेसम्म ८३ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । ९ लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये दुई लाख ४३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । ६ लाख १० हजार भन्दा धेरैको उपचार भइरहेको छ ।

युरोपको इटालीमा २१ हजारभन्दा धेरैको ज्यान गएको छ । तर सङ्क्रमितको हिसाबले स्पेन इटलीभन्दा अघि छ । स्पेनमा अहिलेसम्म १८ हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ भने एक लाख ७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । इटलीमा सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार चार सय पुगिसकेकाे छ ।

यस्तै फ्रान्समा १५ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ भने एक लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी बेलायतमा १२ हजारभन्दा धेरै, बेल्जियममा चार हजारभन्दा धेरै, जर्मनीमा तीन हजारभन्दा धेरै, नेदरल्याण्डस्मा दुई हजार ९ सयभन्दा बढी र स्विजरल्याण्डमा एक हजारभन्दा धेरैको ज्यान गएको छ ।

जर्मनीमा सङ्क्रमितको सङ्ख्या धेरै भए पनि निको हुने बढी छन् । जर्मनीमा अहिलेसम्म १ लाख ३२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ७२ हजार ६ सयभन्दा धेरै निको भएका छन् ।

युरोपको भ्याटिकम सिटी सबैभन्दा कम प्रभावित छ । भ्याटिकन सिटीमा अहिलेसम्म आठ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जना उपचारपछि निको भएका छन् । अन्य ६ जनाको उपचार भइरहेको छ ।

यस्तै फारो टापुमा एक सय ८४ जनामा सङ्क्रमण देखिएकोमा एक सय ६३ जना उपचारपछि निको भएका छन् । २१ जनाको उपचार भइरहेको छ । जिब्राल्टारमा एक सय २९ जनामा कोरोना देखिएकोमा ९३ जना निको भएका छन् भने ३६ जनाकाे उपचार भइरहेकाे छ ।  

उत्तर अमेरिका

युरोपपछि उत्तर अमेरिका सबैभन्दा बढी प्रभावित छ । उत्तर अमेरिकामा मात्रै ६ लाख ५६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५० हजार उपचारपछि निको भएका छन् । २७ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।

उत्तर अमेरिकामा पनि संयुक्त राज्य अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँ मात्रै विश्वका सबैभन्दा धेरै ६ लाख १४ हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ३८ हजार ८ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । २६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै क्यानाडामा २७ हजारभन्दा धेरै सङ्क्रमित हुँदा ९ सय तीन जनाको ज्यान गएको छ । मेक्सिकोमा पाँच हजार तीन सयभन्दा धेरै सङ्क्रमित भएकाेमा चार सय ६ जनाको ज्यान गएको छ ।

ग्रीनल्याण्ड भने ‘ग्रीन जोन’ मा छ । त्यहाँ ११ जनामा सङ्क्रमण पुष्टि भएकोमा ११ जना नै उपचारपछि निको भएका छन् । वल्डाेमिटरले सबै सङ्क्रमित निको भइसकेपछि ‘ग्रीन जोन’मा राख्ने गर्दछ । 

एसिया 

युरोप र अमेरिकाको तुलनामा एसिया कम प्रभावित देखिएको छ । एसियामा अहिलेसम्म तीन लाख २१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ११ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । १ लाख ५५ हजार ८ सय ९ जना उपचारपछि निको भएका छन् । १ लाख ५३ हजार जनाको उपचार चलिरहेको छ । संक्रमितको हिसावले कोरोनाको उद्गम देश चीन सबैभन्दा धेरै प्रभावित छ । चीनमा मात्रै ८२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७७ हजार ८ सय १६ जना उपचारपछि निको भएका छन् । ३ हजार ४ सय ४२ जनाको ज्यान गएको छ । १ हजार १ सय २७ जनाको उपचार चलिरहेको छ । संक्रमितको हिसावले चीनपछि इरान अघि छ । तर ज्यान गुमाउनेको संख्या चीनमा भन्दा धेरै इरानमा छ । इरानमा अहिलेसम्म ७४ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएकोमा साढे ४ हजारभन्दा धेरैको ज्यान गएको छ । ४८ हजारभन्दा धेरै निको भएका छन् । भारतमा संक्रमितको संख्या ११ हजार नाघेको छ । त्यहाँ झण्डै ४ सय जनाको ज्यान गएको छ । अहिलेसम्म ३ सय ९३ जनाको ज्यान गएको भारतथमा १३ सय ५९ जना उपचारपछि निको भएका छन् । एसियामा सबैभन्दा कम यमनमा एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपालमा १६ जनामा कोरोना देखिएकोमा एक जना उपचारपछि निको भएका छन् । अरु १५ जनाको उपचार चलिरहेको छ । 

दक्षिण अमेरिका

एसियापछि दक्षिण अमेरिका बढी प्रभावित छ । दक्षिण अमेरिकामा अहिलेसम्म ५८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २१ हजार ६ सयभन्दा धेरै निको भएका छन् । २५ सयभन्दा धेरैको ज्यान गएको छ ।

दक्षिण अमेरिकामा सबैभन्दा धेरै ब्राजिल प्रभावित छ । ब्राजिलमा मात्रै २५ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १४ हजारभन्दा धेरै निको भएका छन् । १५ सयभन्दा धेरैको ज्यान गएको छ ।

फ्रेन्च गुयनामा ८६ जनामा कोरोना देखिएकोमा ५१ जना निको भएका छन् ३५ जनाको उपचार भइरहेको छ । यस्तै फल्कल्याण्ड टापुमा ११ जनामा सङ्क्रमण पुष्टि भएकोमा एक जना निको भएका छन् । १० जनाको उपचार भइरहेको छ । 

अफ्रिका 

अफ्रिकामा अहिलेसम्म १६ हजार आठ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । ३३ सयभन्दा धेरै निको भएका छन् । आठ सय ७६ जनाको ज्यान गएको छ ।

सङ्क्रमितका हिसाबले दक्षिण अफ्रिकाअघि छ । दक्षिण अफ्रिकामा २४ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २७ जनाको ज्यान गएको छ । अल्जेरियामा अहिलेसम्म दुई हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा चीन सय २६ जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया