'लकडाउन' पछि पनि अत्यावश्यक वस्तुकाे आयात नियमित भइरहेकाे छ : मन्त्रालय

 बैशाख १०, २०७७ बुधबार १३:१२:२२ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – लकडाउन सुरु भएपछि पनि खाद्यान्न, औषधि ग्यासलगायत अत्यावश्यक वस्तुकाे आयात नियमित भइरहेको सरकारले जनाएको छ ।

लकडाउन सुरु भएपछिका २८ दिनमा ७३ हजार पाँच सय १९ मेट्रिक टन खाद्यान्न, २२ हजार सात सय ५६ मेट्रिक टन दलहन, ३८ हजार आठ सय ६३ मेट्रिक टन फलफुल र १० हजार ९ सय ९६ मेट्रिक टन दूधजन्य पदार्थ आयात गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले विभिन्न जिल्लामा ८८ हजार पाँच सय ८८ क्विन्टल धान र १९ हजार ९ सय सात क्विन्टल चामलकाे मौज्दात छ । दुर्गम जिल्लाका डिपो बिक्री केन्द्रमा ३७ हजार सात सय ९० क्विन्टल चामल मौज्दात छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनमा पाँच हजार आठ सय ८७ दशमलव ६१४ मेट्रिक टन चिनी र २४ हजार सात सय ६२ क्विन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी निजी क्षेत्रका उद्योग र व्यापारीसँग एक लाख दुई हजार पाँच सय ७० मेट्रिक टन चामल, ६१ हजार ५४ मेट्रिक टन धान, दाल, केराउ र चना गरी १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

साथै चार सय ८६ दशमलव ८३ मेट्रिक टन पाम तेल, १९ सय १९ दशमलव सात मेट्रिक टन पामोलिन, १६ सय १६ दशमलव ८८ मेट्रिक टन सोयाबिन तेल, आठ सय ४६ दशमलव ७९ मेट्रिक टन सूर्यमुखी तेल मौज्दात रहेको र ६ हजार तीन सय ४६ मेट्रिक टन तेल आयतको क्रममा नै छ । अहिले नेपाल आयल निगमसँग एक हप्ता धान्ने खाना पकाउने ग्यास मौज्दात रहेको र ग्यासको आयात नियमित भइरहेको मन्त्रालयले जनाएको छ ।

यो २८ दिनमा ९३ करोडभन्दा धेरैको तयारी औषधि आयात भएको सरकारले जनाएको छ । गएको चैत ११ देखि हिजोसम्ममा ९३ करोड ३६ लाख ४४ हजार रुपैयाँको औषधि र २१ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

भारतको पश्चिम बङ्गाल प्रदेश सरकारले आफ्ना सबै नाका बन्द गरेपछि चैत २७ गतेपछि भने काँकडभिट्टा नाकाबाट सामान आयात निर्यात ठप्प भएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया