धनकुटा र हिलेबजारका घरधनीहरुद्वारा रुपमा घरभाडा मिनाहाको घोषणा

 बैशाख १५, २०७७ सोमबार १२:२१:० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - लकडाउनको समय बढेसँगै जिल्लाका घरधनीहरुले आफुले भाडामा लगाउँदै आएको घरभाडा मिनाहाको घोषणा गरेका छन् ।

लकडाउनका कारण उद्योगी, व्यवसायीहरुको व्यवसाय धराशायी बन्दै गएपछि राहतस्वरुप धनकुटा र हिलेबजारका घरधनीहरुले स्वत स्फूर्त रुपमा घरभाडा मिनाहाको घोषणा गर्न थालेका हुन् । 

लकडाउनको प्रत्यक्ष मारमा उद्योगी, व्यवासायी परेकोले केही हदसम्म भए पनि उनीहरुलाई राहत पु¥याउने उद्देश्यले धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई सहित एकदर्जन घरधनीहरुले लकडाउन अवधीभरको घरभाडा पूर्णरुपमा छुट दिने बताएका छन् । 

लकडाउनका कारण व्यापार, व्यावसाय बन्द भइ व्यावसायीहरुलाई ठूलो आर्थिक संंकट भएकाले धनकुटा नगरपालिका–५ धरहरा चौकको घरमा व्यापारीहरुले संचालन गरेको किराना पसल र खाजा घरको भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् घरधनी राईले बताए ।

त्यस्तै धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट, हिले बजारका थामबहादुर लिम्बू र हेमकुमारी लिम्बू, जंग क्षेत्री, निरबहादुर गोम्देङ, धनकुटा नगरपालिका–६ का पूर्णकृष्ण श्रेष्ठ, युवराज निरौला लगायतले पनि लकडाउन अवधीको घरभाडा छुट दिने घोषणा गरेका छन् । 

धनकुटा नगरपालिका–१ हिले घर भई हाल बेलायत बस्दै आएका थामबहादुर लिम्बु र हेम कुमारी लिम्बुले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका सदस्य एवम् व्यवसायी गणेश थापाले बताए ।
लकडाउनका कारण व्यवसाय चौपट भएको बेला घरधनीले घरभाडा मिनाहा गरेर आफुहरुलाई राहत मिलेको व्यवसायीहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया