कोरोनाले फरक फरक मनोसामाजिक समस्या : कुन उमेरकोलाई कस्तो ?

 बैशाख १८, २०७७ बिहिबार १७:१५:५७ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - कोरोना महामारीको कारण सङ्कट बढ्दै गएपछि मानिसमा एङजाइटी, चिन्ता र उदासीनता बढ्दै गएको पाइएको छ । कोरोनाले नेपाल मात्र नभई विश्वभरि नै असर गरेकोले विचलित नहुन मनोचिकित्सकहरुले सुझाव दिएका छन् । 

मनोचिकित्सकहरुका अनुसार प्राकृतिक विपत्को समयमा सबै व्यक्तिमा मानसिक असर पर्ने गरेको र अस्वाभाविक परिस्थितिमा हुने यो सामान्य प्रक्रिया हो । अहिले बच्चादेखि वृद्धसम्ममा विभिन्न असर देखिन थालेको छ । 

यस्तो परिस्थितिमा बच्चामा पढाइको चिन्ता, युवामा रोजगारी गुम्ने चिन्ता र बुढाबुढीमा कसरी बाँच्ने भन्ने चिन्ता थपिएको छ । भूकम्पको बेला निश्चित ठाउँमा मात्र असर गरेको भएपनि अहिले विश्व नै सङ्कटमा परेकोले धैर्य गर्नुपर्नेमा मनोचिकित्सकहरुको जोड छ । 

अहिले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकोले घरबाट बाहिर निस्कन मिल्दैन । यो समय आफू र आफ्नो परिवारका सदस्यलाई थप बुझ्ने समय भएकोले विश्लेषण गर्ने, सकारात्मक कुरा सोच्ने, आफ्नै कामको मूल्याङ्कन गर्ने र दुःखमा एकअर्कालाई समर्थन दिएर आत्मबल बढाउनुपर्नेमा मनोचिकित्सकले सुझाव दिएका छन् । यस्तै अहिलेको परिस्थिति के कारणले निम्तिएको हो भन्ने बारेमा सबैलाई जानकारी दिन आवश्यक छ ।

कोरोना के हो ? 

बच्चादेखि बुढाबुढीलाई कोरोना भाइरस भनेको के हो, यसले हाम्रो जीवनमा कसरी असर गरिरहेको छ जस्ता प्रश्नको जवाफ दिनु आवश्यक छ । त्यसैले उनीहरुले बुझ्ने गरी कोरोना भाइरस एक प्रकारको नयाँ भाइरस हो । वैज्ञानिक तथा डाक्टरले यो भाइरसको बारेमा अध्ययन गरिरहेका छन् । सबै उमेर समूहका मानिस, बालबालिका, किशोरकिशोरी, प्रौढ तथा वृद्धवृद्धालाई यो रोग लाग्न सक्छ । कोरोना सङ्क्रमण भएको मानिसलाई छुँदा, सङ्क्रमित भएको व्यक्तिले छोएको ठाउँ वा सामान छुँदा र कोरोना भाइरस भएको ठाउँमा छोएको हातले नाक, मुख एवं आँखा छुँदा यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ जस्ता जानकारी दिनुपर्छ । 

लक्षण 

- एक्कासि उच्च ज्वरो आउनु
- रुघा लाग्नु
- खोकी लाग्नु 
-श्वास फेर्न गार्हो हुनु 

बच्ने उपाय 

- साबुन पानीले २० सेकेण्ड लगाएर पटक पटक हात धुने,
- हाछ्युँ गर्दा कुहिना वा रुमालले मुख छोप्ने, 
- अन्य व्यक्तिसँग दूरी कायम गर्ने, 
- भीडभाडमा नजाने, 
- घरबाहिर जाँदा अनिवार्य मास्क लगाउने, 
- कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने, बरु नमस्कार गर्ने, 
- प्रशस्त पानी पिउने, 
- दिनमा ८ देखि १० घण्टा सुत्ने, 
- जमघट हुने ठाउँमा नजाने, 
- सकेसम्म घरभित्रै बस्ने ।

विद्यालय बन्द हुँदा, घरभित्रै बस्नुपर्दा, परीक्षा रोकिँदा एवं साथी भाइसँग भेट्न नपाउँदा बालबालिकालाई तनाव महसुस हुन सक्छ । यस्तो अवस्थामा अभिभावकले उनीलाई समय दिनुपर्छ । उनीहरुका कुरा सुन्ने, सँगै खेल्ने र उनीहरुसँग रमाउन सक्नुपर्छ । बालबालिकाको उमेरअनुसार उनीहरुलाई समस्या हुन्छ । त्यसको समाधान त्यही अनुसार गर्न मनोचिकित्सकहरुले सुझाव दिएका छन् । 

उमेरअनुसार समस्या  

लकडाउन सुरु भएपछि बुढाबुढीमात्र होइन, कमाउने उमेर समूहदेखि छुनुमुनु गर्दै साथीसँग खेल्ने उमेरका बालबालिका घरमै थन्किएका छन् । ठूला मान्छेले आफ्नो मनका कुरा अरुसँग साट्न सक्छन् । तर बालबालिका जसलाई अहिलेको परिस्थितिले उत्पन्न गरेको तनावबारे थाहा छैन र घरबाट किन निस्कन मिल्दैन भन्ने पत्तो छैन उनीहरुमा पनि मानसिक समस्या देखिन सक्ने मनोचिकित्सकले बताएका छन् । 

बच्चामा कस्ता समस्या देखिन सक्छ ?

बालबालिकामा उमेरअनुसार विभिन्न समस्या देखिन्छन् । समस्या भन्नेबित्तिकै हामी ठूलाठूला समस्या सम्झिन्छौँ । तर, सानासाना कुरामा ख्याल गरेमा ठूला समस्याको सामना गर्नुपर्दैन । सामान्यतया बच्चामा देखिने समस्या निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ः

- अभिभावकहरुसँग टाँसिरहने,
- निन्द्रा तथा खानेबानीमा गडबडी देखिने,
- झर्को मान्ने, रिसाउने,
- नराम्रो सपना देख्ने,
- ध्यान दिन नसक्ने,
- मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन मन नगर्ने,
- शारीरिक पीडाबारे गुनासो गरिरहने 
- दुव्र्यवहारमा संलग्न हुन सक्ने । 

५ वर्षसम्मका बालबालिकामा देखिने समस्या

- डराउने, औँला चुस्ने, ओछ्यान भिजाउने, अभिभावकहरुसँग टाँसिरहने 
- निन्द्रामा गडबडी, 
- खानामा रुचि घट्ने,
- रिसाउने, झर्को मान्ने,
- अभिभावकलाई केही हुन्छ कि भनेर डराउने ।

६ वर्षदेखि ११ वर्षका बालबालिकामा देखिने समस्या

- आफन्त वा आफ्नो अभिभावकसँग छुट्टिनु पर्छ कि भन्ने चिन्ता, 
- एक्लै हुन्छु भनेर डराउने, 
- अभिभावकसँग डराउने वा झर्को मान्ने,
- रिसाउने,
- जिद्दी गर्ने,
- अभिभावकको काख नछोड्ने वा सँगै बसिरहने,
- नराम्रो सपना देख्ने,
- कुनै कुरामा ध्यान दिन नसक्ने,
- मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन मन नगर्ने,
- छट्पटिने, सानो बच्चाको जस्तो व्यवहार गर्ने ।

किशोरावस्थाका बालबालिकामा देखिने समस्या

- उदास रहने, एक्लोपन महसुस गर्ने,
- सुत्ने तथा खानेबानीमा गडबडी,
- जिद्दी गर्ने,
- शारीरिक दुखाइ वा पीडाबारे गुनासो गरिरहने,
- कुनै कुरामा ध्यान दिन नसक्ने,
- दुव्र्यवहारबाट पीडित हुन सक्ने जोखिम 
- आफैँ दुव्र्यवहारको सिकार हुन सक्ने जोखिम । 

यस्तै यसअघि आघातजन्य घटनाहरुको अनुभव गरिसकेका एवं मनोसामाजिक समस्याको सामना गरिसकेका व्यक्तिमा चिन्ता, पीर बढ्ने, धेरै दुःखी हुने, दिक्क मान्ने तथा आत्महत्याको समेत विचार एवं प्रयास गर्नेसम्मका समस्या देखिन सक्छ । यस्तो समस्या देखिएमा सुरुवाती चरणमै परिवारका सदस्यले सहयोग गर्न आवश्यक छ । 

तनाव व्यवस्थापनका उपाय 

–सिर्जनात्मक काममा समय दिने, 
–तालिका बनाएर रमाइला, सिर्जनात्मक सिकाइलगायतका विभिन्न क्रियाकलाप गर्ने, 
- कोठा सजाउने, साथीको लागि उपहार कार्ड बनाउने, हस्तकला तथा सजावटका सामानहरु बनाउने, सीप सिकाउने, 
- रचनात्मक कामका लागि यूट्यूवको सहयोग लिने,  
- आमाबुबा वा अभिभावकलाई भान्साको काममा लगाउने, 
- गीत, कथा, कविता, निबन्ध तथा दैनिक डायरी लेख्ने, 
- चित्र बनाउने, रङ भर्ने, गीत गाउन र नाँच्ने,
- योग, ध्यान, प्रार्थना, व्यायाम गर्ने, 
- घरभित्र खेल्न सकिने खेलहरु खेल्ने, 
- आफ्ना जिज्ञासा अभिभावक तथा दाजुदिदीसँग राख्ने, 
- परिवारका अभिभावक तथा दाजुदिदीहरुसँग सहयोग लिने, 
- विभिन्न माध्यमबाट आफ्नो सिकाइलाई निरन्तरता दिने । जस्तै टेलिफोनबाट शिक्षकसँग सोधेर, सामाजिक सञ्जालको माध्यमबाट साथीसँग छलफल गरेर ।  
- एसईई परीक्षा दिन लागेकाहरुले आफूले तयारी गर्न नभ्याएका विषयको थप तयारी गर्ने  

यो बन्द वा अप्ठ्यारो समय सधैँका लागि होइन । सबै कुरा बन्द भएका छैनन् । खुसी भएर यो समयलाई सिर्जनात्मक काम र इच्छा भएका तर पूरा गर्न नभ्याएका सीप सिक्नमा लगाउन सकिन्छ । यस्तो अवस्थामा बालबालिका र किशोर किशोरीको तनाव व्यवस्थापन, उनीहरुको यो समयलाई सिकाइ तथा सिर्जनात्मक क्रियाकलापमा लगाउन अभिभावक तथा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । 

अभिभावकले के गर्ने ? 

- अभिभावक आफैँले आफ्नो चिन्ता तथा तनावलाई बालबालिकाको अगाडि देखाउनु हुँदैन । आफ्नो चिन्ता तथा तनावलाई सहज तरिकाले व्यवस्थापन गरेर आफ्ना छोराछोरी वा बालबालिकालाई नमुना व्यवहार देखाउने प्रयास गर्नुपर्छ ।  बालबालिकालाई अतिरिक्त माया, समय र चासो दिनुपर्छ ।

- बालबालिकाका कुरा धैर्यतापूर्वक ध्यान दिएर सुन्नुपर्छ । उनीहरुको जिज्ञासाको चित्तबुझ्दो उत्तर दिनुपर्छ । बालबालिकाले बुझ्ने भाषामा कोरोना भाइरस, भाइरसको सङ्क्रमण र यसबाट बच्ने उपाय बुझाउनुपर्छ ।   

- उनीहरुले मोबाइल र टेलिभिजनमा बिताउने समयलाई घटाएर सिर्जनात्मक  क्रियाकलापमा सदुपयोग गर्न प्रेरित गर्नुपर्दछ । सम्भव भएसम्म पहिलेजस्तै तालिकाबद्ध क्रियाकलापमा बालबालिकाहरुलाई अभ्यस्त गराउनुपर्छ । उनीहरुको यो समयलाई सिर्जनात्मक तरिकाबाट बिताउने वातावरण मिलाइदिनुपर्छ । उदाहरणको लागि सँगै कथा भन्ने, लेख्ने, चित्र बनाउने, गीत सङ्गीत सुन्ने, नाच्ने गाउने, कविता, निबन्ध लेख्ने, सँगै बसेर चलचित्र हेर्ने, पुस्तक पढ्ने, घरभित्र खेल्न सकिने खेल खेल्ने, जीवन उपयोगी सीप सिक्ने जस्तै भान्साको काम र सरसफाइ ।

- अभिभावकले आफ्ना बालबालिकालाई सँगै राख्नुपर्दछ । उनीहरुलाई एक्लै छाड्ने तथा राहत लिन र भिडभाडमा पठाउने गर्नु हुँदैन । यसरी पठाउँदा बालबालिका दुव्र्यहारको जोखिममा पर्न सक्छन् । उनीहरुलाई हामी र हाम्रो परिवार सुरक्षित छौँ भन्ने कुराको विश्वास दिलाउनुपर्छ । यसो गर्दा पनि बालबालिकामा तनाव नघटेमा विज्ञसँग सहयोग लिन आवश्यक हुन्छ ।  

- अभिभावकले छोराछारीको सिकाइमा पनि विशेष ध्यान दिनु आवश्यक छ । 

प्राथमिक मनोवैज्ञानिक सहयोग सबै बालबालिकासँगै अरु उमेर समूहका व्यक्तिलाई पनि चाहिन सक्छ । प्राथमिक मनोवैज्ञानिक सहयोगले छिटै सामान्य अवस्थामा आउन मद्दत गर्छ । प्राथमिक मनोवैज्ञानिक सहयोगबाट सामान्य अवस्थामा नआएमा मनोसामाजिक परामर्श आवश्यक पर्छ । अस्पतालका केही सेवा बन्द भए पनि विभिन्न अस्पतालले टेलिफोन सेवाबाट यसबारेमा जानकारी दिइरहेका छन् ।

विपद् (प्राकृतिक या मानवसिर्जित) बाट प्रभावित बालबालिका र वस्यक मानिसलाई उनीहरुको चिन्ता, डर र तनाबलाई कम गर्न तथा मन बलियो बनाउन विपद्लगत्तै प्रदान गरिने भावनात्मक सहयोगलाई प्राथमिक मनोवैज्ञानिक सहयोगको रुपमा लिइन्छ  । जोखिमको समय तथा जोखिम कम हँुदै जाँदा वा लकडाउन खुलेको एक दई हप्तासम्म बालबालिकालाई प्राथमिक मनोवैज्ञानिक सहयोग जरुरी हुन्छ । 

(मनोचिकित्सकद्वय शालिकग्राम भट्टराई र ऋषभ कोइरालासँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार ३०, २०७७

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया