भरतपुर कोरोना अस्पताल : ‘फितलो’ व्यवस्थापनपछिको ‘किचलो’

 बैशाख २०, २०७७ शनिबार १८:७:२० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - कोरोना विपद् व्यवस्थापनका लागि बनाइएको अस्पताल फितलो व्यवस्थापनका कारण बढ्दै गएको किचलोले अहिले भरतपुर अस्पताल नै समस्यामा परेको छ । भरतपुर महानगरपालिकाले अस्पताल स्थापना गरी केही समय कार्यदलमार्फत सञ्चालन गरेर अहिले भरतपुर अस्पताललाई जिम्मा लगाएको छ । 

सङ्कटको समयमा हतार गरी निर्माण गरिएको र त्यही अनुसारको व्यवस्थापन भएकाले धेरै विवादित विषयलाई आन्तरिक रुपमा मिलाउने प्रयास गरिएको थियो । अस्पतालभित्रका विवाद र किचलोका धेरै विषय बाहिर आएनन् । अस्पतालबाट शङ्कास्पद रुपमा रातको समयमा कर्मचारीले सामान ओसारेको भिडियो सार्वजनिक भएपछि यो अस्पताल थप किचलोमा फसेको छ ।

आर्थिक रुपमा पारदर्शिता हुन नसकेको गुनासो बढेपछि अख्तियारले समेत छानबिन सुरु गरिसकेको छ । गुपचुपमै आर्थिक विवरण अनुमोदान गरेको भन्दै कार्यदलमा रहेका सदस्यहरुको नै आपत्ति जनाइरहेका छन् । 

स्थापनादेखि जिम्मासम्म 

भरतपुर महानगरपालिकाको नेतृत्वमा ७२ घण्टामा स्थापना गरी गएको चैत ७ गते भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा आयो । विपद्को बेला स्थापना गरिएको अस्पताललाई जिल्लाका सबै निकायको सहयोग रह्यो । जिल्लाका निजी अस्पताल, मेडिकल कलेज, सुरक्षा निकायलगायत सबैको साथ र सहयोग भएको थियो ।

सुरुमा १० बेड आईसीयू र १० बेड एचडीयू बनाउने घोषणा गरिएको थियो ।  अस्पताल सञ्चालनमा आएको केही दिनमा नै वीरगञ्जका सन्तोष यादवको त्यही अस्पतालमा ज्यान गएपछि अस्पतालको सेवालाई लिएर विवाद आयो ।

उनी कोरोना सङ्क्रमित नभएको र विशिष्ट सेवा पाउनुपर्ने बिरामीलाई जर्बजस्ती हतार हतारमा बनाइएको अस्पतालमा राख्दा सन्तोषको ज्यान गएको भन्ने खालका गुनासा बढ्दै गए । 

भरतपुर कोरोना नियन्त्रण कार्यदलका सदस्य अस्पतालले विशिष्ट सेवा दिन नसक्ने निष्कर्षमा पुगे । कोरोना अस्पतालमा आइसोलेसन मात्रै चलाउने र विशिष्ट सेवाका लागि भरतपुर अस्पताल वा निजी मेडिकल कलेजमा लैजाने निर्णय कार्यदलबाट भयो । 

कोरोना अस्पतालमा काम गर्ने चिकित्सक तथा अन्य कर्मचारीहरु बस्दै आएको क्वरेण्टीन होटल गंगोत्रीमा केही अनैतिक क्रियाकलापहरु समेत भएका चर्चा भए । 

जिम्मेवार प्रतिनिधिले चासो राखेर आन्तरिक रुपमा सचेत गराउनसमेत परेको थियो । यस्ता विषय खासै बाहिर सञ्चारमाध्यममा आएनन् । विवाद र किचलो बढ्दै गएपछि गएको चैत २१ गते भरतपुर अस्पताल र भरतपुर कोरोना अस्थायी अस्पतालका बीच अस्पताल सञ्चालनको सम्झौता भयो । कोरोना अस्पतालको सबै जिम्मा भरतपुर अस्पतालले लिने सम्झौतामा उल्लेख छ । 

चैत २१ गते सम्झौता भए पनि त्यसको झण्डै १० दिनपछि मात्रै भरतपुर अस्पतालले यसको जिम्मा लियो । यो अवधिमा अस्पताल कसको नीति र निर्देशन अनुसार चल्यो भन्ने प्रश्न खडा भएको छ ।  यस अवधिको जिम्मा कसको हुने भन्ने अन्याेल छ ।

सीसीटीभी फुटेज बाहिरिएपछि...

कोरोना अस्पतालमा रातको समयमा स्टोरबाट सामान उठाएको विषय अहिले चर्चामा छ । गएकाे वैशाख १५ गते विभिन्न सञ्चारमाध्यममा अस्पतालको स्टोरबाट रातको समयमा सामान चोरी भएको र आर्थिक हिनामिना भएको समाचार सार्वजनिक भएपछि प्रहरी प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले छानबिन गरिरहेको छ । 

सार्वजनिक भएको सीसीटीभी फुटेज र अन्य विवरणहरुका आधारमा छानबिन चलिरहेको छ । घटना संलग्न अस्पतालका तीन कर्मचारीहरुले सामान चोरी नगरि अन्यत्र सारेको दाबी गरेका छन् । 

घटनाको छानबिन गर्नका लागि कार्यदलले बनाएको छानबिन समितिले पनि राजीनामा दिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै कांग्रेस चितवनले दबाबमूलक आन्दोलन नै गरिरहेको छ । भरतपुर महानगरपालिकामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले घटनामा संलग्न व्यक्तिलाई निलम्बन गरी निष्पक्ष छानबिनको माग गर्दै महानगर प्रमुख रेनु दाहाललाई ज्ञापन पत्रसमेत बुझाएका छन् । 

सीसीटीभीको हार्डडिस्क नै छैन !

छानबिनकै क्रममा कोरोना अस्पतालको सीसीटीभी फुटेजको रेर्कड राख्ने हार्डडिस्क नै फेला परेको छैन । अनुसन्धान अघिकारीहरुले दिएको जानकारी अनुसार वैशाख १३ गते अघिसम्मको रेकर्ड राखिएको हार्डडिस्क फेला परेको छैन । 

१३ गतेभन्दा पछिको मात्रै रेर्कड भेटिएको अनुसन्धान अधिकारीहरुले जानकारी दिए । हार्डडिस्क कसले, किन र कुन प्रयोजनका लागि अनाधिकृत रुपमा लग्यो भन्ने कुरा थप अनुसन्धानको विषय बनेको ती अधिकारीले बताएका छन् । 

समाचारमा आउनुअघि नै भिडियो बाहिर गएको छ भन्ने कुरा अस्पतालका अधिकारीहरुले थाहा पाएका हुनाले हार्डडिस्क पहिल्यै झिकिएको हुनसक्ने अनुमान गरिएको छ । अनुसन्धानका क्रममा हार्डडिस्क छैन भनेर टिपोट गरेको स्राेतले बताएको छ । 

चोरी भएको भनिएको घटनाको छानबिन भइरहेको बताउँदै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालको आर्थिक कारोबारका विषयमा अख्तियारले छानबिन गरिरहेको बताउनुभयो । 

सामान बाहिरिए पछाडि शङ्कै शङ्का !

कोरोना अस्पतालको स्टोरको समान ३० प्रतिशत बाहिर निकालेर कार्यदलमा राख्ने र बाँकी ७० प्रतिशत कोरोना अस्पतालकै स्टोरमा राख्ने भनिए पनि त्यसको आधिकारिक निर्णय कहीँ कतै नभएको कार्यदलका एक सदस्यले बताएका छन् । आधिकारिक निर्णय नगरि व्यक्तीको आदेश अनुसार निर्णय गरिनु थप शङ्काको विषय बनेको उनले बताए ।  

भरतपुर अस्पतालले स्टोरको जिम्मा लिने अघिल्लो दिन राति चैत्र ३० गते अस्पतालबाट सामान निकालेको सीसीटीभी भिडियो बाहिर आयो । भिडियोमा उनीहरुले इसारामा काम गरेको, सामानहरु फुकालेर प्याक गरेको र राति बत्ती निभाएर मोबाइलको लाइट बालेर सामान उठाएको प्रस्ट देखिन्छ । तर त्यो सामान कहाँ र किन लगियो भन्ने अहिलेसम्म प्रस्ट छैन । 

सामान लैजाने आरोपी कर्मचारीहरुले कार्यदलको अफिसमा सामान सारेको दाबी गरेका छन् । तर कार्यदलको अफिस कहाँ हो भन्ने जानकारी स्वयं अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले बताउन सक्नुभएको छैन । 

स्टोरको केही सामान व्यवस्थापन गर्न भनेको तर रातिको समयमा सामान सार्न अनुमति नदिएको डा. अधिकारीले बताउनुभएको छ । अनुमतिविना राति सामान किन र कसको आदेशमा सारियो भन्ने प्रश्न पनि खडा भएको छ । 

भोलिपल्ट भरतपुर अस्पतालले स्टोरको जिम्मा लिँदै थियो भने अघिल्लो दिन राति सामान उठाउनु गलत भएको कार्यदलका सदस्यहरु बताउँछन् । 

कोरोना अस्पताल सञ्चालनको जिम्मा पाएको भरतपुर अस्पतालका स्टोर प्रमुख केशव सापकोटाले अघिल्लो दिन राति लगिएको सामानका बारेमा आफू जानकार नभएको बताउनुभयो । गएकाे वैशाख १ गते भरतपुर अस्पतालले स्टोरको जिम्मा लिएको थियो । तर सामान चैत ३० गते राति बाहिरिएको थियो । 

भरतपुर अस्पतालले जिम्मा लिएपछि एक जना कर्मचारीलाई कोरोना अस्पतालको स्टोर हेर्ने जिम्मा लगाएको भरतपुर अस्पतालका स्टोर प्रमुख सापकोटाले बताउनुभएको छ  । 

भरतपुर अस्पतालले स्टोरको जिम्मा लिएपछि पनि कोरोना अस्पतालका स्टोरका कर्मचारीहरु हरेक दिन रातिसम्म स्टोरमा बस्ने गरेका थिए । 

वैशाख ४ गते स्टोर पुगेका इलेक्ट्रिसियन सन्तोषकुमार यादवलाई लेखापाल फणिन्द्र खनालले कुटपिट गरेको भिडियोमा देखिन्छ । वैशाख ७ गते राति स्टोरबाट एलसीडी मोनिटर जस्तो सामान बत्ती निभाएर निकालेको देखिएको छ । 

कोरोना अस्पतालका स्टोरका कर्मचारीले वैशाख १ गते नै बुझाउनुपर्ने स्टोरको चाबी वैशाख ८ गते मात्रै बुझाएका थिए । बीचमा अस्पतालले चाबी बुझाउन ताकेता गरे पनि नदिएको भरतपुर अस्पताल स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया