वैशाखमै किन ‘असारे झरी’ ?

 बैशाख २२, २०७७ सोमबार १४:११:१७ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – वैशाख महिनामा टन्टलापुर घाम लाग्नुपर्नेमा दिनहुँजसो असारको जस्तै झरी परिरहेकाे छ । झरीसँगै चिसो बढेको छ । धेरैले दराजमा थन्क्याएर राखेको न्यानो कपडा झिकेर लगाउन थालेका छन् ।

सोमबार त झन् काठमाण्डौसहित मध्य र पश्चिमका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । वैशाखमै असारजस्तो पानी परेपछि धेरैलाई अहिले प्रिमनसुन हो कि मनसुन भन्ने अन्योल भएको छ । तर मौसमविद्का अनुसार अहिले प्रिमनसुनकै अवस्था हो ।

तर प्रिमनसुनमा मनसुनमाजस्तै झरी किन परिरहेको छ त ?

वरिष्ठ मौसमविद् इन्दिरा कँडेल भन्नुहुन्छ, ‘अहिलेको मौसम प्रणाली हेर्दा अनुसन्धानको खाँचो दखिएको छ । हामीले अब यसअघिको तथ्याङ्क केलाउनु जरुरी छ । पोहोर, परार मौसम यस्तो थिएन । ठ्याक्कै यही कारण हो भन्नका लागि अनुसन्धान गर्नुपर्छ, जुन भइसकेको छैन ।’ 

धेरैलाई चासो भएकाे यो विषयमा अनुसन्धान नै भइसकेको छैन । जल तथा मौसम विज्ञान विभागले पनि के कारणले लगातार झरी पर्‍याे भनेर ठ्याक्कै निष्कर्ष निकाल्न सकेको छैन । अहिलेको अवस्थालाई हेर्दा बङ्गालको खाडीबाट लगातार जलवाष्पयुक्त हावा आएको र पश्चिमीसँगै स्थानीय वायुको प्रभावले मौसम बदली भइ वर्षा भइरहेको विभागले जनाएको छ । तर यो प्रणाली किन लम्बियो भन्ने ठ्याक्कै जवाफ चाहिँ विभागसँग छैन । 

विभागले हरेक महिनाको मौसमको पूर्वानुमान एक/दुई महिना अगाडि नै गर्ने गरेको छ । यसपालि पनि त्यस्तै गरेको थियो, औसत पानी पर्छ भन्ने । ‘तर यति धेरै लगातार वर्षा हुन्छ भन्ने चाहिँ अनुमान थिएन’, विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भन्नुभयो । 

विभागले समुद्री सतहको तापक्रमको आधारमा मौसम पूर्वानुमानको भविष्यवाणी गर्दै आएको छ । पूर्वी र पश्चिमी प्रशान्त महासागर र हिन्द महासागरको तापक्रमको सूचकका आधारमा मौसमको भविष्यवाणी गर्ने गरिएको र यसपालि त्यहाँको तापक्रम सामान्य नै रहेकाले लगातार यसरी पानी पर्नुको अन्य कारण पनि हुन सक्ने मौसमविद्को अनुमान  छ ।

प्रिमनसुनमा पूर्वानुमान गर्न गाह्राे

मौसमविद् विभूति पोखरेलले अहिले लगातार पानी पर्नुका कारण धेरै भएको बताउनुभयो । प्रिमनसुनमा एकैछिन पानी पर्ने र एकैछिन रोकिने हुन्छ । स्थानीय वायुको प्रभावका कारण कुनै एक ठाउँमा पानी परे पनि अर्को ठाउँमा घाम लाग्ने हुन्छ ।

मौसमविद् पोखरेल भन्नुहुन्छ, ‘माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको असर देखिएको छ । प्रिमनसुनमा पूर्वी क्षेत्र नजिक न्यून चापीय रेखासँगै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभाव पनि धेरै हुन्छ । यस्ता विविध कारणले मौसम छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुन्छ ।’

यो हप्ताभरि नै पानी पर्ने अनुमान

देशका धेरै ठाउँको मौसम सोमबार बदली भएको छ । धेरै ठाउँमा मेघगर्जन  र हावाहुरीसहित पानी परिरहेको र राति पनि पानी पर्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभएको छ । उहाँका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ पानी परेको हो । 

यसपालि बङ्गालको खाडीबाट लागातारजसो जलवाष्पयुक्त हावा आएकाले निरन्तरजस्तै पानी परेको हो । पोहोर, परार यसरी लगातारजसो पानी नपरे पनि यसपालि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको मौसमविद् नगरकोटीको भनाइ छ । 

उहाँले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातारजसो पानी परेको र यो हप्ताभरिकै मौसम यस्तै रहने बताउनुभयो । 

यसवर्ष हिउँदमा पनि वर्षा धेरै

पोहोर, परार प्रिमनसुनको समयमा बिहान र दिउँसोको समयमा घाम लाग्ने र त्यसपछि मेघगर्जन (गड्याङगुडुङ) सहित वर्षा हुने गरेको थियो । अङ्ग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनाको समयलाई प्रिमनसुन भन्ने गरिएको छ । यसपालिको हिउँदमा पोहोर, परारभन्दा पानी धेरै परेको छ । 

मौसमविद्का अनुसार पोहोर, परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भइरहेको छ । यो वर्षाले फलफुल र कृषिबालीलाई भने फाइदा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालिको हिउँदयाममा सन् २०१६/२०१७ मा मापन गरिएको अधिकतम तापक्रमभन्दा अहिलेको अधिकतम तापक्रम कम देखिएको छ । पछिल्ला दुई वर्षको तापक्रम औसतभन्दा कम दखिएको छ । साथै यो वर्ष गएका वर्षमाभन्दा चिसो धेरै हुने पनि विभागले जनाएको छ । 

वर्षायाममा पानी पर्ने सम्भावना कति ?

हिउँद र प्रिमनसुनमा पानी धेरै परेपछि किसानलाई वर्षायाममा पानी नपर्ने हो कि भन्ने जिज्ञासासँगै चिन्ता थपिएको छ । मुख्य कृषिबाली धान लगाउने बेलामा पानी पर्ने हो कि ? भन्ने चासो बढेको छ । 

मौसमविद्ले वर्षायाममा पनि सरदर पानी पर्ने पूर्वानुमान भएको जानकारी दिएका छन् । अहिलेसम्मको अध्ययनले नेपालमा सरदर पानी पर्ने देखाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

तर प्रदेश ५ का केही ठाउँमा भने वर्षाको समयमा सुख्खा हुन सक्ने आशङ्का छ । तर अझै पनि समय रहेकाले आत्तिनुपर्ने अवस्था भने नरहेको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्षायाममा पनि सरदर वर्षा हुन सक्ने सम्भावना छ । प्रदेश १, प्रदेश ३ र  गण्डकी प्रदेशको उत्तरी क्षेत्रमा औसत वर्षा हुने अध्ययनले देखाएको छ । अन्य ठाउँमा भने औसत वर्षा हुने सम्भावना कम छ ।’

 

अन्तिम अपडेट: चैत ७, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया