वैशाख २५ पछि लकडाउनको मोडालिटी परिवर्तनबारे अन्यौल

 बैशाख २२, २०७७ सोमबार १८:७:२८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे गृहकार्य भए पनि के गर्ने भन्नेमा अन्यौल छ ।

लकडाउनबारे सरकारलाई सुझाव दिन गठित समितिले कोरोना सङ्क्रमण नदेखिएको क्षेत्रमा लकडाउन खुकुलो बनाउन सकिने प्रतिवेदन बनाए पनि उच्चस्तरीय समन्वय समितिकै कतिपय सदस्यहरुले यसो गर्न नहुने बताउँदै आएका छन् ।

स्रोतका अनुसार सुझाव समितिले कोरोना सङ्क्रमण जोखिमका आधारमा मुख्य तीन क्षेत्र निर्धारण गरेको छ । कोरोना सङ्क्रमण अति प्रभावित, प्रभावित र सामान्य इलाका पहिचान गरेर त्यसैका आधारमा मोडालिटी बनाइएको छ ।

सङ्क्रमण जोखिमका आधारमा अति प्रभावित र उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ । कोरोना सङ्क्रमण भेटिएका जिल्लालाई रातो क्षेत्रमा राखेर लकडाउन कायमै राख्नुपर्ने समितिको सुझाव छ ।

त्यस्तै पहेंलो क्षेत्रमा पर्ने जिल्लामा लकडाउन रातो क्षेत्र भन्दा केही खुकुलो तथा हरियो क्षेत्रमा भने दूरी कायम गर्नेगरी आवश्यक गतिविधि सञ्चालन गर्न सकिने समितिको सुझाव छ । यी तीनवटा क्षेत्रमा एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत भने रोक्नुपर्ने समितिको निष्कर्ष छ । 

यस्तै धार्मिक क्रियाकलाप, सभा सम्मेलन, पर्यटन तथा मनोरञ्जन क्षेत्रमा रोक लगाउन सुझाव छ । आवतजावत रोक्ने, होटल, सिनेमा नखोल्ने तर ईकमर्स, अत्यावश्यक सामग्रीलाई सञ्चालन गर्ने विकल्प राखिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय क्षेत्र, कृषि क्षेत्र सञ्चालन गर्न सकिने समितिको सुझाव छ । निर्माण सामाग्री, अटो सर्भिसिङ्ग, इलेक्टिक, अटो पार्टस जस्ता क्षेत्रलाई अति प्रभावित क्षेत्रबाहेक पहेंलो र हरियो क्षेत्रमा खोल्न सक्ने सुझाव छ ।

सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र केही कर्मचारी मात्रै काममा खटाउने सकिने समितिले सुझाव दिएको छ । समितिका अनुसार हरियो क्षेत्रमा शैक्षिक संस्था सञ्चालन गर्न उपयुक्त देखिन्छ तर रातो र पहेंलो क्षेत्रमा शैक्षिक गतिविधि हुने छैनन् । 

उच्चस्तरीय समितिले निर्णय गर्ने

लकडाउन खुकुलो भए कोरोना सङ्क्रमण थप बढ्ने भएकाले सजक हुनुपर्ने उच्चस्तरीय समन्वय समितिकै धेरै सदस्यहरुको राय छ । तर लकडाउनकै कारण भैरहेका समस्या र अर्थतन्त्रमा पर्ने असरलाई पनि मध्यनजर गर्न सरकारलाई दवाव छ ।

नागरिकको सुझाव र दवाव तथा कोभिड १९ सङ्क्रमित संख्या बढ्दो क्रममा रहेकाले लकडाउनलाई खुलाउने विषयमा अन्यौल कायमै रहेको छ । सरकारले पछिल्लो पटक घोषणा गरेको लकडाउन सकिन तीन दिन मात्रै बाँकी छ ।

मंगलबार या बुधबार बस्ने उच्चस्तरीय समितिको बैठकले यसबारे टुंगो लगाएपछि मन्त्रिपरिषदले निर्णय गर्नेछ । सरकारले पछिल्लोपटक वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया