राहत नपाउँदा गाउँपालिका कार्यालयमा स्थानीयले गरे तालाबन्दी

 बैशाख २३, २०७७ मंगलबार १८:५८:४० | धनवीर महतो
unn.prixa.net

महोत्तरी - राहत नपाएको भन्दै महोत्तरीको सम्सी गाउँपालिकाका स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । लकडाउनमा गाउँपालिकाद्वारा दिइने पहिलो चरणको राहत वितरण नहुँदा स्थानीयले मङ्गलवार बिहानदेखि कार्यलयमा तालाबन्दी गरेका हुन् । 

आफूहरुले यस सम्बन्धमा बारम्बार सरोकारवालालाई ध्यानाकर्षण गराउँदा समेत पहल हुन नसकेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीय युवाहरुले बताएका छन् ।

तालाबन्दी खुलाउने विषयमा आफूले पहल गरिरहेको पालिकाका अध्यक्ष शेख फारुखले जानकारी दिनुभयो । गाउँपालिकाले यसअघि नैै ७ वटा वडाका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउँदा समेत हालसम्म राहत उपलब्ध नगराउनु वडा कार्यालयकोे कमजोरी रहेको अध्यक्ष फारुखले बताउनुभयो ।

पालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतबीच जारी विवादको कारण कर्मचारीहरु कार्यालयमा नियमित उपस्थित हुन सकेका छैनन् जसको कारण वडा नम्बर १,२, ३ र ६ मा पहिलो चरणको राहत वितरण हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले मनोमानी ढङ्गले कार्यालय सञ्चालन गर्नुको साथै धमाधम भुक्तानी गर्न थालेपछि अध्यक्ष फारुखले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया