भारतबाट फर्केका ३ सय ५० नेपाली सीमा क्षेत्रमा अलपत्र

 बैशाख २४, २०७७ बुधबार १९:१४:१८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतका विभिन्न सहरबाट घर फर्किरहेका ३ सय ५० नेपाली यस जिल्लाका विभिन्न सीमा नाकामा अलपत्र परेका छन् । जिल्लाका चाकरचौडा, गौरा, रङपुर, कृष्णनगर र मर्यादपुरलगायतका सीमा नाकामा उनीहरु अलपत्र परेका हुन् । 

भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका ती नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल फर्कन दबाब दिन थालेपछि उनीहरु हप्तौँ दिन लगाएर पैदल यात्रा गरी सीमा क्षेत्रसम्म आइपुगेका छन् । भारतमा जारी लकडाउनले खाने पैसा नभएपछि मुम्बईबाट आफूहरु गाउँ फर्किन बाध्य भएको दशगजामा अलपत्र परेका कपिलवस्तु नगरपालिका वडा नम्बर ४ लौसाका रामनाथ यादवले बताउनुभयो । 

रामनाथजस्तै सीमा क्षेत्रमा रहेका सबैको अवस्था उस्तै छ । सोमवार राति सीमा क्षेत्रसम्म आएका उनीहरु दशगजा क्षेत्रमा भोकभाकै छन् । खुला आकाशमा सीमा क्षेत्रमा रात बिताएका उनीहरुलाई सर्प तथा अन्य विषालु किराहरुको टोकाइको जोखिम पनि उतिकै छ । उनीहरुलाई सीमा नाकामै क्वरेण्टीन स्थापना गरेर व्यवस्थापन गर्न मायादेवी गाउँपालिकाका प्रमुख बजरङ्गी चौधरीले स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ । 

मर्यादपुर र रङपुर सीमा नाकामा अलपत्र परेका नेपालीलाई यशोधरा गाउँपालिकाबाट खाना, नास्ता तथा बस्ने प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख गिरजेशकुमार पाण्डेयले बताउनुभयो । दुई देशका सरकारस्तरीय निर्णयबाट भारतमा रहेका नेपालीलाई भारतले खानपिनको प्रबन्ध गर्ने र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्था गर्ने सहमतिअनुसार उनीहरुलाई सीमा क्षेत्रबाट नेपाल भित्रन दिन नमिल्ने स्थानीय प्रशासनले जनाएको छ । 

भारततर्फ नै उनीहरुलाई क्वरेण्टीनमा बस्ने र खानपिनको प्रबन्ध मिलाउन आफूले आफ्ना भारतीय समकक्षी सिद्धार्थनगर जिल्लाका प्रमुखसँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । 

भारतका विभिन्न सहरमा रहेका नेपालीलाई भारतीय पक्षबाट नेपाल फर्कन दबाब दिइएको कारण नेपाल फर्कनेहरुको सङ्ख्या दिनहुँ बढेको छ । भारतसँग सीमा जोडिएको कपिलवस्तुको १ सय ९३ किलोमिटर सीमालाई सिल गरिएको र सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया