जेठ ५ सम्म कपिलवस्तु सिल गर्ने प्रशासनकाे निर्णय

 बैशाख २९, २०७७ सोमबार १७:११:५२ | गोपाल भण्डारी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले आज बेलुकी ५ बजेदेखि जेठ ५ गतेसम्म जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । 

पछिल्लो समय भारतबाट लुकेर आउने क्रम बढेको र भारतबाटै आएका व्यक्तिमा नै कोरोना सङ्क्रमण भेटिएको भन्दै सुरक्षा समितिले जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरेको हाे । प्रशासनले तरकारी र खाद्यान्न किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याएको उहाँले बताउनुभयो । 

खाद्यान्न बोकेका गाडी, एम्बुलेन्स र शव वाहनलाई भने चल्न दिने बैठकले निर्णय गरेको छ । कपिलवस्तुमा अहिलेसम्म १५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया