डाक्टर केसी : चार दिन बझाङ अस्पतालमा सेवा दिएर बैतडीतर्फ

 बैशाख ३०, २०७७ मंगलबार ६:५४:१९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - वैशाख २५ गते बेलुका जिल्ला अस्पताल बझाङ पुगेका डाक्टर गोविन्द केसी त्यहाँबाट बैतडीतर्फ लाग्नुभएको छ ।

डडेल्धुराबाट जिल्ला अस्पताल पुगेका डाक्टर केसीले  चार दिन जिल्ला अस्पतालमा बसेर सेवा दिनुभएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताउनु भयो ।

डडेल्धुराबाट एम्बुलेन्समा लिफ्ट मागेर बझाङ पुगेका डाक्टर केसी सोमबार बिहान एम्बुलेन्समै लिफ्ट मागेर बैतडीतर्फ लाग्नुभएको डाक्टर ओखेडाले बताउनु भयो । 

डाक्टर केसी कैलालीतर्फ रिफर गरिएको बिरामी लगेको एम्बुलेन्समा खोड्पेसम्म जानुभएको उहाँले जानकारी दिनुभयो । 

डाक्टर ओखेडाका अनुसार डाक्टर केसी बझाङ पुगेको यो दोस्रो पटक हो । डाक्टर केसीले जिल्ला अस्पतालमा आएर ३ वटा अप्रेशन र एक सय जनाभन्दा बढी बिरामीहरुको जाँच गर्नु भएको छ । 

जिल्ला अस्प्तालमा डाक्टर केसी आएको जानकारी पाएपछि लकडाउनले सुनसान नबनेको जिल्ला अस्पतालमा उपचार गराउनेहरु बढेका थिए । सोमबार पनि थुप्रै बिरामीहरु फिर्ता भएका डाक्टर ओखेडाले बताउनु भयो । 

डाक्टर केसीले जिल्ला अस्पताल बझाङमाभन्दा बढी समस्या डडेल्धुरामा रहेको र त्यहाँ थुप्रै बिरामी पुग्ने भएकाले बैतडीमा २/३ दिन बसेर फेरि डडेल्धुरा नै पुग्ने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया