कोरोना सङ्क्रमण पुष्टि भएका नयाँ बिरामीको कन्ट्याक ट्रेसिङ आजदेखि, कुन जिल्लामा कति सङ्क्रमित ?

 बैशाख ३१, २०७७ बुधबार १२:१०:२१ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना सङ्क्रमण पुष्टि भएका नयाँ विरामीको कन्ट्याक ट्रेसिङ आजदेखि सुरु गर्ने तयारी गरेको छ ।

हिजो उपत्यकामा तीन जनासहित एकैदिन ८३ जनामा कोराना पुष्टि भएपछि उनीहरुको कन्ट्याक ट्रेसिङ आजदेखि सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सङ्क्रमित पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका अरु व्यक्तिको खोजी गरेर उनीहरुको पनि कोरोना परीक्षण गर्ने तयारी छ ।

हिजो उपत्यकामा तीन जनासहित ८३ जनामा कोरोना पुष्टि भएपछि आजदेखि सम्पर्कमा आएका अरु व्यक्तिको खोजी गर्न लागिएको हो । हिजो पर्सामा दुई पत्रकारसहित ५७ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई जना तथा काठमाडौं, बाराका र सर्लाहीमा एक–एक जना गरी ८३ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २१७ पुगेको छ ।

अहिलेसम्म उपचारपछि ३४ जना निको भएका छन् । हिजोमात्रै बुटवलको कोरोना अस्पतालबाट एक जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ३४ पुगेको हो ।

उपत्यकामा कोरोना देखिएका महिला बैशाख २९ गते काठमाडौं आएका थिए

उपत्यकामा कोरोना पुष्टि भएका तीन जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राति नै पु¥याइएको छ । काठमाडौं र भक्तपुरमा कोरोना पुष्टि भएका दुई महिला गएको २९ गते काठमाडौं आएको खुलेको छ । काठमाडौं चन्द्रागिरीकी ३३ वर्षकी महिला महेन्द्रनगरबाट र भक्तपुरमा डेरा गरी बस्ने २५ वर्षकी युवती सुनसरीबाट काठमाडौं आएको खुलेको छ ।

भक्तपुर दुवाकोटका २८ वर्षका पुरुष भने कताबाट आएको खुल्न बाँकी छ । उनीहरुलाई राती नै टेकु अस्पताल लगेर आइसोलेसनमा राखिएको छ । सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पर्साका सङ्क्रमण पुष्टि भएकाहरुलाई एकै ठाउँमा ल्याउने तयारी

पर्सामा कोरोना देखिएका नयाँ विरामीलाई एकै ठाउँमा ल्याउने तयारी भएको छ । विभिन्न गाउँमा कोरोना सङ्क्रमित भेटिएपछि उनीहरु सबैलाई आज एकै ठाउँमा ल्याउने तयारी भएको हो । तर धेरै सङ्क्रमित भएकाले कहाँ र कसरी राख्ने भन्नेबारेमा भने निर्णय हुन बाँकी छ ।

नारायणी अस्पताल वीरगन्जमा ७० वटा आइसोलेशन बेड रहेकामा ८२ जनामा कोरोना पुष्टि भैसकेको छ । हिजो कोरोना पुष्टि भएका ३९ जनालाई अस्पताल पुर्याइए पनि विभिन्न गाउँमा कोरोना सङ्क्रमित भेटिएपछि उनीहरुलाई वीरगन्ज ल्याउने तयारी छ । हिजो कोरोना पुष्टि भएका दुई जना पत्रकारलाई भने वीरगन्जको नारायणी अस्पतालमा आइसोलेशनमा राखिएको छ ।

हिजो ५७ जना नयाँ विरामी थपिएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको छ ।

कुन प्रदेशमा कति सङ्क्रमित

अहिलेसम्म १९ हजार ९ सय ९० जनाको पिसिआर र ५९ हजार ६ सय २७ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरीएकोमा २ सय १७ जनामा कोरोना देखिएको हो । जसमध्ये सबैभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा भेटिएका छन् । अहिलेसम्म प्रदेश २ मा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

प्रदेश २ को पर्सामा ८२, धनुषा, बारा र रौतहटमा ३–३, महोत्तरी र सर्लाहीमा २–२ तथा सप्तरीमा १ गरी ९६ जना, प्रदेश ५ को कपिलवस्तुमा २९, बाँके २४, रुपन्देही १६ र बर्दीयामा एक गरी ७० जना, प्रदेश १ को उदयपुरमा ३२, झापामा २ तथा भोजपुरमा एक गरी ३५ जना, वागमती प्रदेशको काठमाडौ ४, भक्तपुर र चितवनमा २–२ धादिङ १ गरी ९, सुदुरपश्चिम प्रदेशको कैलालीमा ४ र कन्चनपुरमा एक जना गरी ५ तथा गण्डकी प्रदेशको बाग्लुङमा २ गरी २ सय १७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा भने एक जनामा पनि कोरोना देखिएको छैन । त्यहाँ परीक्षण नै नभएकाले कोही पनि सङ्क्रमित नभेटिएका स्थानीयको गुनासो छ । अहिलेसम्म सङ्क्रमित भएका मध्ये ३४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २, बागमती र सुदुरपश्चिम प्रदेशमा ५–५, गण्डकी प्रदेशमा २ जना तथा प्रदेश ५ मा एक जना डिस्चार्ज भएका छन् ।

लकडाउन आफ्नै लागि

लकडाउन खुकुलो भएपछि केही दिन यता उपत्यकासहित मुख्य शहरमा गाडीको चाप बढेको छ । तर लकढाउन खुकुलो भयो भन्दैमा अति आवश्यक नपरी घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले कोरोनाबाट आफु र आफ्नो परिवारलाई जोगाउन पनि अति आवश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले कोरोनाबाट बच्न आफै सचेत हुनुपर्ने भन्दै घरघरमा आफैंले कफ्र्यू लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया