अरु देशले यसरी फर्काउँदैछन् आफ्ना नागरिक स्वदेश, नेपाल अझै अलमलमा

 जेठ २, २०७७ शुक्रबार १४:०:५० | सन्जिता देवकोटा

काठमाण्डौ –कोरोना भाइरस (कोभिड – १९) का कारण खाडीका ६ देश र मलेसियामा रहेका चार लाखभन्दा धेरै नेपाली स्वदेश फर्कने सरकारी अनुमान छ । रोजगारी गुमाएका, आममाफीमा सहभागी भएका, भिसाको अवधि सकिएका वा अन्य विभिन्न कारणले चार लाख ७ हजार नेपाली स्वदेश फर्कन सक्ने वैदेशिक रोजगार बोर्डको अनुमान छ । 

तर झण्डै दुई महिना बित्दा सरकारले गृहकार्य गरेको छौं भन्नुबाहेक अरु तयारी गरेको देखिँदैन । कुवेतमा आममाफीमा सहभागी भएका झण्डै २८ सय जनालाई कुवेत आफैंले नेपालसम्म ल्याइदिन्छु भन्दा पनि सरकारले अनुमति दिन सकेको छैन । अन्य देशमा विभिन्न कारणले समस्यामा परेर दूतावासको गेटसम्मै श्रमिकहरु धर्ना दिन पुगेको अवस्था छ । 

छिमेकी देश भारतले वैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन थालेको छ । अरु देश फिलिपिन्स, श्रीलङ्का, बंगलादेश, पाकिस्तान लगायतले पनि तयारी गरेर आफ्ना नागरिकको उद्धार प्रक्रिया थालिसकेका छन् । 

आफ्ना नागरिक स्वदेश फिर्ताका लागि अरु देशले गरेका तयारी :

भारत 

कोरोनाका कारण घर फर्किन चाहने आफ्ना नागरिकलाई भारतले निजी विमान, सैन्य परिवहन विमान र नौसेनाको युद्धपोतमार्फत स्वदेश ल्याउन थालेको छ । भारतले पहिलो चरणमा विभिन्न देशबाट १८ लाख भारतीय नागरिकलाई स्वदेश फिर्ता ल्याउने तयारी छ ।

भारतको केरलामा विभिन्न देशबाट आएका श्रमिकलाई विभिन्न स्थलमा दुई लाख वटा कोठाको व्यवस्था गरिएको छ । खाली ठाउँ पहिचान गरेर होटल, ठूलाठूला सार्वजनिक भवन र निजी घरहरुलाई क्वारेण्टीनको रुपमा प्रयोग गर्ने तयारी छ ।

यस्तै भारतको विदेश मन्त्रालयले मार्च महिनादेखि कोभिड कन्ट्रोल रुम सञ्चालन गर्दै आएको छ । चौबीसै घण्टा सञ्चालन हुने यो सेवामार्फत श्रमिक र तिनका परिवारको जिज्ञासा सम्बोधन गरिन्छ । 

फिलिपिन्स

फिलिपिन्सले वैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकका लागि गरेका व्यवस्था अरुबेला पनि उदाहरणीय मानिन्छ । फिलिपिन्स सरकारले आफ्नो देशका आप्रवासी श्रमिकलाई फिर्ता ल्याउन छुट्टै कार्यदल गठन गरेको छ ।

फिलिपिन्सको यातायात विभाग र वैदेशिक रोजगार काल्याणकारी प्रशासनले यसको नेतृत्व लिएका छन् ।  जुन नेपालको वैदेशिक रोजगार बोर्डजस्तै हो । फिलिपिन्सले यो परिस्थितिमा समस्यामा परेका श्रमिकको समस्या समाधान गर्न ओरसिज प्रिपेयर्डनेश एण्ड रेस्पोन्स टिम पनि बनाएको छ । 

विदेशमा समस्यामा परेर उद्धार गरिएका नागरिकको व्यवस्थापनाका लागि ठूला होटललाई क्वारेण्टीन केन्द्र बनाइएको छ । पर्यटन विभागले त्यहाँको यातायात विभागलाई एअरपोर्टबाट यात्रु बोकेर होटलसम्म पुर्‍याउने जिम्मा दिएको छ । 

स्वदेश फर्किएकालाई अनिवार्य १४ दिन क्वारेण्टीनमा राख्न कर्मचारी खटाएको छ भने विभिन्न समूह बनाएर फ्रन्टलाइनमा कर्मचारी खटाइएको छ । आफ्नै खर्चमा क्वारेण्टीनमा बस्छु भन्नेहरुका लागि होटलको व्यवस्था गरिएको छ । सरकारी क्वारेण्टीन केन्द्र भने निःशुल्क उपलब्ध छ ।

यस्तै, फिलिपिन्सले विदेशमा रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै त्यहाँको परराष्ट्र विभागले फेसबुक हेल्पलाइभ सञ्चालन गरिरहेको छ । यसमार्फत विभागका उपसचिव तहका कर्मचारीले श्रमिकको गुनासो सम्बोधन गर्छन् ।

पाकिस्तान

पाकिस्तानले नेपालमा रहेका आफ्ना नागरिक लिन पनि जहाज पठाएको थियो । त्यसैगरी विभिन्न देशमा फसेका र समस्यामा परेका आफ्ना नागरिकको उद्धारका लागि पाकिस्तानले क्वारेण्टीनका लागि १४० स्थलहरु जस्तै, स्कुल र होटलहरु पहिचान गरेको छ । जहाँ २४ हजार शैयाको व्यवस्था गरेको छ ।  क्वारेण्टीनमा निःशुल्क खानेबस्ने व्यवस्था गरिएको छ । 

उद्धार गरेर ल्याइएका यात्रुको सामान एयरलाइन्सले नै किटाणुरहित गर्ने गरेको छ । यात्रु आफैले सामान लिन पाउने छैनन् । यअरलाइन्सले नै समानको व्यवस्थापन गरेको हुन्छ । 

आइसकेपछि यात्रु र चालकदलका सदस्यलाई परीक्षणका लागि राखिनेछ । सबैलाई ४८ घण्टासम्म सरकारको क्वारेण्टीनमा राख्ने र त्यसपछि परीक्षण गर्ने गरिन्छ । विमानस्थलमार्फत घरसम्म पुग्ने व्यवस्था सम्बन्धित निकायले नै गर्छ । विमानस्थलमा कसैलाई पनि भेट्न दिईंदैन । 

श्रीलङ्का 

श्रीलङ्काले आप्रवासी श्रमिकलाई लक्षित गरी अनलाइन पोर्टल सञ्चालन गरिरहेको छ । कन्ट्रयाक्ट श्रीलङ्कका नामको अनलाइन पोर्टलबाट श्रमिकका चासो सम्बोधन, सहयोग प्रदान, तथ्याँक सङ्कलन, र नीति निमार्णमा आवश्यक सूचना उपलब्ध गराई सहयोग पुर्‍याउँछ । 

इण्डोनेसिया 

इण्डोनेसियाले आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षाका लागि विदेशबाट फर्किएकालाई १४ दिन छुट्टै क्वारेण्टीनमा राख्ने गरेको छ । सबैको पहिलो र १० औं दिनामा र्‍यापिड टेस्ट हुन्छ । क्वारेण्टीनमा व्यायामदेखि मनोसामाजिक परामर्शसमेत प्रदान गर्दै आएको छ ।

बंगलादेशले पनि मध्यपूर्वी देशबाट आउनेलाई ढाकासहित विभिन्न ठाउँमा क्वारेण्टीनको व्यवस्था गरिसकेको छ ।

नेपालले के गरिरहेका छ त ?

नेपाल सरकारले प्राथमितकताको आधारमा विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश ल्याउने भनेको छ । तर कहिले र कसरी ल्याउने भनेर अझै पनि स्पष्ट नीति बनिसकेको छैन ।

अहिले विदेशमा भिसाको म्याद सकिएर, आममाफीमा सहभागी भएका र कोरोनाको कारण रोजगारी गुमाएर मलेसियाबाट ३७ हजार, कतारबाट एक लाख ४५ हजार, साउदीबाट १ लाख २० हजार, यूएईबाट ६७ हजार, कुवेतबाट २४ हजार, बहराइनबाट १० हजार ५ सय, ओमानबाट ३ हजार ५ सय गरी  ४ लाख ७ हजार फर्कन सक्ने सरकारी अनुमान छ । 

 

अहिलेको अवस्थामा गन्तव्य देशमा रहेका नेपाली नियोगले समस्यामा परेका श्रमिकको विवरण सङ्कलन गरिरहेका छन् । खाद्यान्न लगायत समस्या हुनेलाई दूतावासले विभिन्न नेपाली सङघ संस्था र एनआरएनए लगायतको समन्वयमा खाद्यान्नको व्यवस्था मिलाएका छन् । खाद्यान्नको व्यवस्था गर्न वैदेशिक रोजगार बोर्डले ७० लाख रुपैयाँ पठाएको जनाएको छ । दूतावासहरुले विभिन्न माध्यममार्फत सूचना पनि दिइरहेका छन् । 

यस्तै प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य खाडीका विभिन्न देशका आफ्ना समकक्षीसँग टेलिफोनमार्फत कुरा गर्दै समस्याका लागि पहल गर्दै आएका छन् । कल सेन्टरमार्फत पनि समस्या समाधानका लागि पहल भैरहेको श्रम मन्त्रालयको दावी छ । 

तर सरकारले ती देशमा समस्यामा परेका र नेपाल फर्कन खोज्नेको उद्धारका लागि कुनै ठोस योजना ल्याएको छैन । कुवेतले आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिन तयारी अवस्थामा राखेको छ । तर नेपालले अनुमति दिएको छैन ।

यस्तै यूएई र कुवेतका केही कम्पनीले आफैले जहाज चार्टर्ड गरेर भए पनि नेपाल पुर्‍याइदिने भनेका छन् । तर त्यसतर्फ पनि सरकारले अहिलेसम्म कुनै निर्णय लिएको छैन । उनीहरुलाई ल्याएपछिको व्यवस्थापनका बारेमा पनि सरकारले योजना बनाइसकेको छैन ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सरकारलाई दबाब बढिरहेको छ । तर सरकारले भने प्राथमिकताको आधारमा ल्याउने भन्नेबाहेक अरु आश्वासनसमेत दिएको छैन । मलेसियाले जनवरी एकदेखि भिसाको अवधि सकिएकालाई त्यहाँ लकडाउन खुलेको १४ दिनभित्र स्वदेश फर्कन निर्देशन दिएको छ ।

यस्तै यूएईले पनि भिसाको अवधि सकिएर बसेका सबै आप्रवासीलाई मे १८ देखि तीन महिनाभित्र स्वदेश फर्कन भनेको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सरकारले निर्णय लिन गरेको ढिलासुस्तीले अझै कतिसमय विदेशमा नेपाली अत्यासमा बस्नुपर्ने हो, निश्चित छैन ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • Bhuwan

    May 15, 2020, 5:17 p.m.

    कसले बुझ्ने हाम्रो पीडा ....बाटोमा बसेका छौं ....पुलिससंग बचेर भाग्ने हो ....बस्ने ठेगान छैन ...न त नेपालवाट केहि रेस्पोन्स नै हुन्छ ...यो त अति भयो / सरकार नेपालको वाटो कुर्दा कुर्दै ज्यान नै जान्छ कि भन्ने डर भयो / केहि सहयोग गर सरकार /

  •  0 Reply
  • Thakur sunuwar

    May 15, 2020, 3:10 p.m.

    हाम्रो देश नेपाल सरकार त एउटा कलंक हो अफ्नो नागरिक विजोक भाको र मरेको मात्र हेर्दै छ .... कति भइसक्यो हामी उदार गर्छौ भनेको खोइ त काम सुरु गरेको ....हामी परदेशीलाई चाँडो उदार गर्नु सुरु गर नेपाल सरकार/

  •  0 Reply

तपाईको प्रतिक्रिया