जति धेरै लकडाउन, उति धेरै फाइदा

 जेठ ३, २०७७ शनिबार १०:४३:५९ | मिलन तिमिल्सिना
unn.prixa.net

अस्तिताका लकडाउन खुकुलो मात्रै होइन, ह्वाङ्गै बनाउँदा झण्डै बर्बाद भैसकेको थियो ।

स्कुल, क्याम्पस, कार्यालय खुल्ला कि, पढ्न र काम गर्न जान पर्ला कि, थन्काएर राखेको लुगाफाटा र जुत्तामोजा भिर्नुपर्ला कि, दाह्री कपाल काट्नुपर्ला कि, किरिम पाउडर दल्नुपर्ला कि, नुवाईधुवाई गर्नुपर्ला कि भन्ने कत्रो चिन्ता । धन्न कोरोनाले साथ दियो, नरम भएको लकडाउन फेरि कडा भयो । हिँड्न परेन, आनन्दै भयो ।

जति लकडाउन, उति धेरै फाइदा । पढ्न नपर्दा विद्यार्थीलाई फाइदा । पढाउन नपर्दा शिक्षकलाई फाइदा । एक दुई ठाउँमा दुई, चारजनाले अनलाइन कक्षा भनेर कनिकुथी जुम चलाउन जानिहाले । पढाईको औपचारिकता भैहाल्यो ।

काम गर्न नपर्दा जागिरेलाई झन् फाइदा । घरमै बसेर काम गर्नु, अनलाइन पढ्नु भने पनि बेलाबेला बिजुली र नेट गैरहन्छ । नगए पनि गयो बत्ति गयो, नेट छैन भन्न पाइन्छ । बहाना बनाउन, काम छल्न पाइन्छ, अनि भएको छैन त फाइदा ?

प्रधानमन्त्री र सरकारलाई झन् फाइदा । सडकमा विरोधीहरु निस्कन नसक्ने भएकाले जे मन लाग्यो त्यही निर्णय र काम गर्न पाइएको छ । कोरोनाको संक्रमण होस् कि सीमामा अतिक्रमण, कहिले विज्ञप्ति निकालिन्छ, कहिले कविता लेखिन्छ ।

योभन्दा जान्ने र सक्ने कुरो अरु छैन । त्यो भएन, यो चाहिँ गर्नुपर्छ भनेर सडकमा कराउने कोही छैन । सडकमा कसैले विरोध नगर्दासम्म काम गर्ने बानी छैन, अनि खुरुखुरु गर्नुपर्ने काम गर्न नपर्दा फाइदै छ । 

सबैभन्दा बढी फाइदा कृष्णबहादुर महरा र गोकुल बाँस्कोटालाई छ । लकडाउन नभएको भए मुख देखाउन कठिन हुने थियो, लकडाउन भएकाले मास्क लगाउन पाइयो । लकडाउन नभएको भए के चाल हुन्थ्यो ? बाटोमा कसरी हिँड्न सकिन्थ्यो ? अरुलाई कसरी मुख देखाउन सकिन्थ्यो ? अहिले त मास्क लगाउन पाइएको छ, कोही नहिँड्ने सडकमा हिँड्न पाइएको छ । अनुहार देखाउनै परेको छैन, फाइदैफाइदा छ ।

मनपरी भाउ बढाउन पाइने भएकाले व्यापारीलाई फाइदा । प्रेस लेखेर खाली सडकमा फूल र हिमालको फोटो खिच्दै डुल्न पाइने भएकाले पत्रकारलाई फाइदा । भनसुन र सोसफोर्समा सवारी पास लिएर उसैगरी निर्धक्क घुम्न पाइने भएकाले ठूलाबडा, नेता र भुँडीवाल व्यापारीलाई फाइदा । त्यसमाथि नेता, व्यापारी, पत्रकार, अनि पहुँच भएकाहरुलाई त कोरोनाले पनि छुन सक्दैन । सडकमा जति डुले पनि भयो । प्रेस पास र लकडाउन पास भएपछि कोरोनाको के को डर ? 

कोरोनाको डर नहुनेलाई त झन् फाईदै फाइदा । अलिअलि डराएर घरभित्रै बस्नेलाई पनि फाइदै छ । दुई महिनाअघि फुकालेर राखेको लुगा, जुत्तामोजा धुन परेको छैन । खाटमुनी, दराजको कुनामा कहाँ छ भनेर खोज्नु परेको पनि छैन ।

नयाँ लुगा किन्न परेको छैन । नुहाउन, दाह्री कपाल काट्न, मेकअप गर्न परेको छैन । कुन दिन, कुन रात, कुन तिथि, कुन बार, बेला बित्यो, अबेला भयो भन्न परेको छैन । दिनभरी घुरे पनि भएकै छ, रातभरी जागे पनि भएकै छ ।

खान पाइएन भनेर कसैले रोइकराइ गरेको छैन । ठाउँठाउँमा भात तरकारीदेखि लुगाफाटा बाँड्नेहरु प्रशस्तै छन् । भोक लागे, लुगाफाटा चाहिए लाइनमा बस्न गए भैहाल्यो । नपाइएला, नदेलान् भन्नु परेको छैन । कामै नगरी खान पाइएको छ । 

कोरोना नलाग्दासम्म पो डर थियो । कोरोना लाग्न थालेपछि त डर पनि हराउन थालेको छ । चुनावमा मत सार्वजनिक भएजस्तो छिनछिनमा यति पुग्यो भनेर सरकारले भन्छ । कहिले घटाउँछ पनि । ए बढ्यो, ए घट्यो, ए यति मात्रै, ठिकै छ, मरेको त कोही छैन नि भनेर चित्त बुझाउन पाइएको छ । 

लकडाउनकै कारण घरघरमा कवि, कलाकार, विश्लेषक, राष्ट्रभक्त, समीक्षक जन्मेका छन् । देशको चिन्ता गर्नेहरु थपिएका छन् । बाटो खाली छ, तै पनि हिँड्न परेको छैन । हरेकका घरमा नयाँ नयाँ परिकार बन्छ, तर पाहुनालाई दिन परेको छैन ।

बेला बेलामा घरमा पाकेको खाँदा गाला राता भएका छन् । छाला चिल्लो भएको छ । घण्टा घण्टामा सावुन पानीले धूदा हातखुट्टा टलक्क टल्केका छन् । जतिपल्ट हात धोए पनि कसैसित हात मिलाउनु र मिसाउनु परेको छैन । आइतबार बिहान उठ्नेबित्तिकै ओहो शनिबार कहिले आउँछ भन्नु परेको छैन । पहिले दिनमै ५, ६ सय रुपैयाँ सकिन्थ्यो । अहिले ५ रुपैयाँ खर्च गर्नु परेको छैन ।

पहिले पहिले एक दिन बन्द हुँदा ओहो खत्तम भयो जस्तो लाग्थ्यो, अहिले झण्डै दुई महिनासम्म बन्द हुँदा पनि केही भएझैं लाग्दैन । गाडी नगुडे पनि भएकै छ । कार्यालय नखुले पनि चलेकै छ । बजार पसल बन्द भए पनि पुगेकै छ ।

लकडाउनका कारण के कति घाटा वा नोक्सान भयो अथवा हुन्छ त्यो लकडाउन खुलेपछिको कुरा हो । भोलिको कुरा भोलि नै गरौला । जे होला, लकडाउन खुलेपछि मात्र होला, लकडाउनले अहिले त जताततै फाईदा मात्रै भएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • K B Bhurung

    May 18, 2020, 6:26 a.m.

    ज्यलादारि काम गर्ने र महिना को तिसै दिन काम नगरेसम्म ज्याला तथा तलब नआउने साना Private Institutions मा काम गर्ने बाहेक अरु सबैलाइ फाइदै फाइदा छ. सहि कुरो !

  •  0 Reply

तपाईको प्रतिक्रिया