कोरोनाले ज्यान गुमाएकी महिलाको गाउँमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन सुरु

 जेठ ४, २०७७ आइतबार २१:२:४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट ज्यान गुमाएकी सुत्केरी महिलाको गाउँमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन सुरु भएकाे छ ।

वाग्मती प्रदेशले स्थापना गरेको द्रूत प्रतिकार्य टोलीको नेतृत्व गर्दै सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालसहित स्वास्थ्यकर्मीहरुको टोली मृतक महिलाको गाउँमा पुगेको थियो ।

प्रदेश मन्त्रालय अन्तर्गत गठित द्रूत प्रतिकार्य टोलीले कोरोना भाइरसका कारण सुत्केरी महिलाको ज्यान गएपछि टोलीले कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिलो चरणमा मृतक महिलाको घर क्षेत्रको आफन्तको स्वाब सङ्कलन सुरु गरेकाे हो ।

सामाजिक विकास मन्त्रीसहित प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका प्रमुख रमेश अधिकारी, प्रदेशका विज्ञ डाक्टर पुरुषोत्तम सेढाईँ, प्रयोगशाला प्रमुख नारायण कार्की, जिल्ला स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईँसहितको आठ सदस्य द्रूत प्रतिकार्य टोली मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका ९ राम्चे ठोटनेरी पुगेको हाे ।

वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलयले पहिलो घेरामा कम्तीमा एक सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

पहिलो घेराको स्वाब सङ्कलनपछि दोस्रो घेराकाहरुकाे परीक्षणका लागि स्वाब सङ्कलन सुरु गरिने बताइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया