कोभिड-१९ : जिल्ला अस्पताल क्षेत्र र धनकुटा बजार ‘सिल’

 जेठ ५, २०७७ सोमबार ११:४:४७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल आसपाससहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतबार राति सम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद बिमलीले बताउनुभयो । 

सङ्क्रमित स्वास्थ्यकर्मीको सम्भावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो। बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ । अटेर गर्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्नेछन् । 

धनकुटा नगरपालिका–७ को भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रदेखि, धनकुटा बसपार्क, बसपार्कदेखि जिरो प्वाइन्ट, जिरो प्वाइन्टदेखि परिचय मोड, परिचय मोडदेखि यलम्वर चोक, यलम्वर चोकदेखि सिनेमा हल, सिनेमा हलदेखि याक्चना घाट जाने त्रिवेणी चोक सम्मको क्षेत्रलाई सिल गरिएको छ । 

सिल गरिएको क्षेत्रमा सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ सङ्क्रमित पुष्टि भएकी स्वास्थ्यकर्मीलाई साँझदेखि नै धनकुटा अस्पतालको आइसोलेन वार्डमा राखिएको छ । उनलाई बिहान ८ बजे कोरोना अस्पताल विराटनगर पाठाइएको छ ।

उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । 

बैठकले धनकुटा अस्पतालमा २१ दिन यता आएका सेवाग्राहीहरुको ट्रेसिङ गरेर कोरोना परीक्षणलाई तीव्रता दिने पनि निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठलेजानकारी दिनुभयो। 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी र प्रशासनका कार्यरत कर्मचारीहरुको केही दिन अघि मात्रै स्वाब परीक्षण गरिएको थियो । धनकुटा अस्पताल आएका बिरामीबाटै नै सङ्क्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

सङ्क्रमित स्वास्थ्यकर्मी लकडाउनभन्दा अघिदेखि जिल्ला बाहिर नगएको खुलेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया