दैलेखमा कोरोना सङ्क्रमण पुष्टि भएका युवक जिल्ला सदरमुकामको आइसोलेसनमा

 जेठ ७, २०७७ बुधबार ७:४७:३६ | अमर सुनार
unn.prixa.net

दैलेख – कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई जिल्ला सदरमुकामको आइसोलेसन वार्डमा राखिएको छ । 

आठबीस नगरपालिका–१ सात्तलास्थित लक्ष्मी मावि क्वारेण्टीनमा शनिबार नोजल स्वाव संकलन गरिएका  ३९ जनामध्ये एक जनामा कोरोना पुष्टि भएको जानकारी पाएपछि स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीको नेतृत्वमा गएको टोलीले मंगलबार एम्बुलेन्समा ल्याएको हो । 

कञ्चनपुरको गड्डाचौकी हुँदै एउटै गाडीमा आएका ५३ जनामध्ये ४ जना बर्दिया झरेका, आठ जना दैलेखको ठाँटीकाँध, एक जना दुल्लू र एक जना चामुण्डाबिन्द्रासैनी नगरपालिकाका व्यक्तिहरु सोझै घरमै पुगेकामा यी युवकमा कोरोना पुष्टि भएपछि ती सबैलाई खोजी गरी आआफ्ना पालिकाका क्वरेण्टीनमा ल्याइएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

सङ्क्रमित युवालाई राखिने सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन कक्षमा उपचारका लागि एक जना डाक्टर, दुई जना नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहनेछन् ।  

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कर्णालीमै पहिलो कोरोना सङ्क्रमित दैलेखमा देखिए पनि सङ्क्रमण बढ्न नदिन स्थानीय सरकार, स्वास्थ्यकर्मी, सरोकारवाला सबैको तत्परता बढाउन र धैर्यतासँगै सुरक्षित रहन स्थानीयलाई सांसद पार्वती बिशुन्केले अनुरोध गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया