भारत लगायत अरु देशमा अलपत्र परेका पाल्पालीलाई उद्धार गरिँदै

 जेठ १०, २०७७ शनिबार १२:३७:३९ | देव पचभैया
unn.prixa.net

पाल्पा - लकडाउनका कारण भारत तथा अन्य देशमा अलपत्र परेका पाल्पालीहरुलाई उद्धार गर्ने तयारी भएको छ । 

पाल्पाका पालिका प्रमुख तथा जिल्ला सुरक्षा निकायका प्रमुखसहितको बैठकले छिमेकी भारत लगायतका देशमा अलपत्र परेका पाल्पालीहरुलाई उद्धार गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ  । 

उद्धार गरिएकाहरुलाई तानसेन नगरपाली भित्र स्थापना गरिने होल्ड क्वरेण्टीनमा राखिने र  स्वास्थ्य परीक्षणपछि स्थानीय तहको क्वरेण्टीनमा लाने निर्णय भएको छ ।  

भारत लगायतका देशमा रहेकाहरुले पालिका, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा फोन गरेर सहयोगका लागि अपिल गरिरहेकाले उनीहरुको एकै पटकमा उद्धार गर्ने निति अघि सारिएको जनाइएको छ । 

बाहिरबाट ल्याइएकाहरुलाई अनिवार्य क्वरेण्टीनमा राखिने, उनीहरुको आरडीटी, पीसीआर विधिबाट चेकजाँच गरिने र त्यसको लागि तथ्याङ्क संकलन र व्यवस्थापनको लागि तानसेन नगरपालिकामा हेल्प डेक्सको स्थापना गरिने छ । 

बैठकले ताहु, तानसेन, रिब्दीकोट र रामपुरक्षेत्रमा ६ दिनभित्रै आइसोलेशन कक्षहरु निर्माण गर्ने निर्णय गरेको छ । 
विशेषगरी कामका लागि भारत गएका तर जारी लकडाउनका कारण नेपाल भारतको सीमासम्म आएर अलपत्र परेकाहरुलाई प्राथमिकता दिएर उद्धार गरिने जनाइएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया