हेटौँडा अस्पतालका डाक्टर, नर्ससहित ६६ जनाको स्वाब सङ्कलन

 जेठ १०, २०७७ शनिबार १८:४८:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – कोरोना भाइरसको सङ्क्रमण फैलिएको समयमा हेटौँडा अस्पतालका डाक्टर, नर्स, अनमी, अहेब, ल्याबका प्राविधिक, कर्मचारीसहित ६६ जनाको स्वाब सङ्कलन गरिएको छ । 

कोरोना देखिएपछि दैनिक दुई सयभन्दा बढी बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हेटौँडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

सबैको रिपोर्ट आजै आउन सक्ने बताइएको छ । मकवानपुरको हेटौँडा अस्पतालमा ६ दिन अगाडि रिफर भएकी बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले हेटौँडा अस्पतालमा आकस्मिक बैठक बसेको छ । अस्पतालमा केही दिनअघि आएकी बिरामीको कोरोना पुष्टि भएपछि अबको अवस्थालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताइएकाे छ ।

हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा जारी बैठकले अस्पतालमा ती बिरामीसँग नियमित सम्पर्कमा रहेका झण्डै २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेशनमा राख्ने निर्णय गर्ने हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले बताउनुभयो ।

बिरामीसँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याबमा रहेका प्राविधिक, एक्स-रे गर्ने प्राविधिक, नर्ससहितका २० जना कर्मचारीलाई आइसोलेशनमा राख्ने बताइएको छ ।

अस्पतालले अहिलेसम्म एक सय ५० कर्मचारीमध्ये ६६ जनाको स्वाब सङ्कलन गरेर परीक्षणकाे लागि पठाइसकेको र बाँकीको आजै स्वाब परीक्षणको लागि पठाउने डाक्टर खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया