दैलेखका थप ५ जनामा कोरोना पुष्टि

 जेठ ११, २०७७ आइतबार २१:४०:२३ | अमर सुनार
unn.prixa.net

दैलेख – कर्णाली प्रदेशमा पहिलो सङ्क्रमित फेला परेको दैलेख जिल्लामा आज थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको कर्णाली प्रदेश प्रयोगशालाकी निर्देशक डाक्टर रीता भण्डारीले जानकारी दिनुभयो । 

सदरमुकाम नारायण नगरपालिका ३ का १५ वर्षीय र नारायण नगरपालिका ६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका १ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उहाँकी श्रीमती र त्यही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् । 

सङ्क्रमण पुष्टि भएका पाँचै जनालाई सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसोलेशन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

स्वास्थ्यकर्मीहरुको सल्लाहमा सङ्क्रमण देखिएका दम्पतिसँगै एक वर्षीय बालक पनि आइसोलेशनमा राखिएको डुङ्गेश्वर गाउपालिका १ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताउनुभयो । 

आज पुष्टि भएका समेत दैलेखमा कोरोना सङ्क्रमितको संख्या ६ पुगेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया