मलेसियामा थप १२ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ६७ पुग्यो

 जेठ १५, २०७७ बिहिबार १०:३१:४६ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – मलेसियामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो दुई हप्तामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र योसँगै सङ्क्रमित नेपालीको सङ्ख्या मलेसियामा ६७ पुगेको मलेसियामा रहेको नेपाली दूतावासमा द्वितीय सचिव महेश त्रिपाठीले उज्यालोलाई जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ । उपचारत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिपाठीले बताउनुभयो।

‘अहिलेसम्म यहाँ सङ्क्रमित कोही पनि नेपाली आइसियूमा हुनुहुन्न, सबैको अवस्था समान्य छ र निको हुने चरणमा नै हुनुहुन्छ,’ द्वितीय सचिव त्रिपाठीले भन्नुभयो, ‘आत्तिनुपर्ने अवस्था छैन, मलेसियामा निको हुनेको सङ्ख्या पनि धेरै नै छ ।’

मलेसियामा अहिलेसम्म ७ हजर ६१९ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ८३ जना त निको भइसकेका छन् । १४ सय २१ जनाको अस्पतालमा उपचार भइरहेको छ । ११५ जनाको ज्यान गएको छ ।

मलेसियाले कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ । जुन ९ सम्म मलेसियाले लकडाउन गरेको छ । तर निश्चित मापदण्डसहित अहिले मलेसियामा आर्थिक गतिविधिहरु सुरु भइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया