साथीको लागि टीकारामको ‘सहादत’ : आमाले भाग्यलाई सराप्दै, बुवा एक्लो छोराको काजकिरिया गर्दै

 जेठ १७, २०७७ शनिबार १३:२१:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – ‘मेरी आमासँग भिडियो कल बनाइदेउ न दिदी’, टीकाराम सुनारले छिमेकी दिदी दीपालाई जाजरकोटबाट फेसबुकमा भन्नुभएको थियो । दीपाले आश्वासन दिनुभयो, ‘आमा गिट्टी कुटेर आएपछि साँझ पक्का है ।’ छोराले कुरा गर्न खोज्नुभएको भन्ने खबर सुनेकी आमा गीताले बेलुका भिडियो कलको लागि कोसिस गर्नुभयो । तर टीकाराम फेसबुकमा अफलाइन हुनुहुन्थ्यो । शनिबार घटना हुनुभन्दा केही दिनअघि भिडियो कलमा आमासँग बोल्न चाहनुभएका टीकाराम कहिल्यै भेट्न नपाउने गरी जानुभयो ।

भाग्यलाई सराप्दै बुवाआमा

आइतबार भेरी नदीको किनारमा फेला परेको शव मङ्गलबार साँझमात्रै घरको आँगनमा आइपुग्दा उहाँकी आमा गीता अचेत अवस्थामा हुनुहुन्थ्यो । दुई हप्ताअघि घरबाट मावली गाउँ जाजरकोट गएको छोराले आफूसँग भिडियोमा बोल्न चाहेको कुरा अहिले होस खुल्दा आफू सपनामा भएकोजस्तो ठान्नुुहुन्छ उहाँ । आमाले आफ्नो भाग्यलाई सराप्दै रुनुहुन्छ ।

बुवा शोभे नेपालीलाई पनि टीकारामले फोन गर्दै दुई दिनमा जाजरकोटबाट घर आउने बताउनुभएको थियो । ‘हाम्रो जिन्दगी भनेको त्यही एउटा छोरो थियो । अब के नै बाँकी रह्यो र ?’ छोराको किरियाकर्ममा व्यस्त टीकारामका बुवाले भावविह्वल हुँदै भन्नुभयो, ‘मेरो किरिया त्यही छोराले गर्ने आशा थियो । तर मैले नै छोराको किरिया गर्नुपर्यो । मजस्तो अभागी बुवा को होला ?’ टीकारामका बुवा त्यही सन्तानको लागि ६ वर्ष मलेसियामा रगत र पसिना बगाएर गएको कात्तिकको भाइटीकाको भोलिपल्ट घर फर्किनुभएको थियो । 

छोरी र श्रीमतीको बेहाल

गएको शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर– ८, सोती गाउँमा भएको घटनामा ज्यान गुमाउनुभएका चौरजहारी वडा नम्बर १ का टीकारामको घरमा यति बेला पीडाका सुस्केरा र दुर्भाग्यका वेदनाहरुले सन्नाटा छाएको छ । समवेदना दिन आउनेहरुको सङ्ख्या लामो छ । तर सबैको रोदन मिश्रित अनुहारले घर नै उजाड भएको त्यत्तिकै बुझ्न सकिन्छ । शनिबार उहाँको घरमा शुद्धिकार्य हुँदैछ । 

अठार वसन्त भर्खर पार गर्नुभएकी टीकारामकी श्रीमती दुई वर्षीया छोरीलाई काखमा राखेर २० लाग्दै गरेका श्रीमानको काजकिरिया गर्दै हुनुहुन्छ । उहाँको बेहाल अवस्था देखेपछि घटनाको कारण र प्रकृति सुने बुझेका सबैमा अन्यायविरुद्ध आगो ओकल्ने साहस बढ्छ । परिवारसहित सबै दोषीमाथि कडा कारबाही हुने आशामा बसेका छन् ।

बहिनी बेहोसीमा बर्बराउँदै

टीकारामकी एकमात्र बहिनी छिन् । जो दाइको शव भेरीमा भेटिएको खबर सुनेदेखि बेहोसीमै बर्बराउनुहुन्छ । दाइसँगको अन्तिम कुराकानीको शब्दले उहाँलाई कताकता पोल्ने गरेको छ । ‘दाइ, धेरै दिन भो, घर आउनु न’ भनेर आफूले फोनमा बोल्दा ‘अब त कहिले आउँला र बहिनी’ भनेको कुरा अहिले घत लागिरहेको छ । टीकारामको त्यो बोली त्यतिबेला वास्ता नभए पनि अहिले वास्तविक बनिदिएको छ । 

सहयोगी र मृदुभाषी टीकाराम

कसैको आँखामा नबिझाउने स्वभावका टीकाराम साथीको लागि साथ र हात दिन जाँदा भेरी नदीमा विभत्स अवस्थामा मृत भेटिनुभयो । टीकारामले कहीँकतै रुखोे बोलेको उहाँका साथीभाइलाई सम्झना छैन । उहाँको मिल्ने साथी गणेश विकका अनुसार कसैले पिट्दा पनि हाँसेरै टार्ने टीकारामको बानी थियो । दुई हप्ताअघि जाजरकोट जानुअघि ‘मोबाइलमा कुनै फिल्म भए हालौँ न’ भनेको गणेशलाई टीकारामको त्यही बोली अन्तिम क्षण बनेको छ । 

साथीको लागि ‘सहादत’

टीकारामको पारिवारिक अवस्था कमजोर रहेकोले उहाँले तीन वर्षअघि एसईई सकेर उच्च शिक्षा अध्ययन गर्न सक्नुभएन । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर– ११ मा मावली र ससुराली थियो उहाँको । धेरैजसो उहाँ उतै आउजाउ गर्नु हुन्थ्यो । यसपटक भने जाजरकोट सदरमुकाममा रहेको माइली सानीआमाको घरसम्म गएर बस्नुभएको थियो । 

त्यहीँ गएको बेला जाजरकोटको भेरी नगरपालिका वडा नम्बर –४ का साथी नवराज विकको दुलही लिन चौरजहारीको सोती गाउँ पुग्नुभएको थियो । नवराजको प्रेम सम्बन्धबारे उहाँलाई राम्रोसँग जानकारी थियो । नवराज दलित र उहाँकी प्रेमिका ठकुरी जातिको भएको कारण बेला बेला आउने उल्झन उहाँलाई थाहा थियो । टीकारामसहित १८ जना साथीहरु नवराजको लागि बेहुली ल्याउन सोती गाउँतिर हिँडेका थिए । 

परस्परविरोधी दाबी 

सोती गाउँ पुग्दा गाउँलेहरुको आक्रमणमा परेर नवराजसँगै टीकारामको पनि  ज्यान गयो । नवराज र टीकारामसँगै चार जना युवाको शव भेरी नदीमा फेला परेको थियो भने सँगै गएका एक जना अझै बेपत्ता छन् । टीकारामबाहेक अन्य सबै मृतक जाजरकोटका हुन् । १२ जनालाई भने गाउँलेहरुले प्रहरीलाई बुझाएका थिए । अन्तरजातीय प्रेम सम्बन्धको कारण गाउँलेहरुले एकजुट भएर लखेटी लखेटी मारेको केटा पक्षकाहरुले बताउँछन् भने गाउँलेहरुले युवाहरु गलत नियतका साथ गाउँमा आएकाले सम्झाउन खोज्दा भागाभाग भएर भेरीमा हाम फालेको बताउँछन् ।   

घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै देशभर आवाज बुलन्द र प्रदर्शन भएका छन् । विभिन्न अधिकारवादी संस्थाहरुले घटनाको यथार्थ पहिल्याउन कोसिस गरिरहेका छन् । मृतकका परिवारजनले घटनामा संलग्नहरुमाथि कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् भने प्रहरीले घटनामा संलग्न भनिएकामध्ये १८ जनालाई पक्राउ गरेको छ । यस्तै सङ्घीय सरकारले घटना छानबिनको लागि बनाएको समितिले काम सुरु गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया