त्रिभुवन विमानस्थलमा अब १५ वटा जहाज पार्किङ गर्न मिल्ने

 जेठ १७, २०७७ शनिबार १८:२०:२० | रासस
unn.prixa.net

काठमाण्डौ – देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप तीन सय मिटर विस्तार गरिएको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो-टु विस्तारको काम सम्पन्न भएको विमानस्थलले जनाएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो ।आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर बनाइएको जानकारी दिनुभयो । 

विमानस्थलको धावनमार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनुका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने उहाँले उल्लेख गर्नुभयो । धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘धावनमार्ग विस्तार भएपछि अन्तर्राष्ट्रिय जहाजलाई उडान अवतरण गर्न सहज हुन्छ, यसले विमानस्थलको सुरक्षालाई पनि मद्दत पुग्छ ।’

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए-३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 

लकडाउनमै धावनमार्ग विस्तार

कोभिड–१९ महामारी नियन्त्रणकाे लागि सरकारलै चैत ११ देखि लागू गरेको लकडाउनकै अवस्थामा धावनमार्ग विस्तारको काम सकिएको हो । तीन सय मिटर धावनमार्ग विस्तारकाे लागि मूल्य अभिवृद्धि करबाहेक ८० करोड रुपैयाँ खर्च भएको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

परियोजनाको कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको थियो । चैत ११ देखि जारी लकडाउनसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका नियमित उडान अवतरणमा प्रतिबन्ध गरिएपछि बेलुका ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा धावनमार्ग विस्तारको काम गरिएको थियो । तीन सय मिटर लामो धावनमार्ग विस्तार गरी कालोपत्र गर्ने काम सकिएकाले अब ‘रनवे लाइट र एप्रोच लाइट’ राख्ने काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।

‘सिभिल निर्माणको काम सकिएको छ, अब केही प्राविधिक काम बाँकी छ, रनवे लाइट विदेशबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्न सक्छ’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो । आयोजना अन्तर्गत विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको नयाँ ‘स्टेरायल हल’ निर्माणको काम पनि सकिएको छ । 

यो काम पनि लकडाउनकै समयावधिमा भएको हो । एक हजार दुई सय सिट क्षमताको हल बनाइएको छ । अहिले त्यही भवनको पुरानो स्टेरायल हल भत्काउने काम भइरहेको छ ।

लकडाउनको अवधिमा विमानस्थल विस्तारको काम एक दिन पनि नरोकिएको विमानस्थलले जनाएको छ । विमानस्थलमा लकडाउनकाे अवस्थामा रात्रिकालीन उडानकाे लागि नोटाम जारी गरिएको भए पनि दिउँसो नियमितजसो अन्तर्राष्ट्रिय उडान (दैनिक कम्तीमा पनि एक उडान) भएको विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो ।

अन्तर्राष्ट्रियतर्फ १५ जहाज क्षमताको पार्किङ
  
अन्तर्राष्ट्रिय विमानस्थलको दुवैतर्फ पार्किङ वे विस्तार गरी १५ अन्तर्राष्ट्रिय एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको छ । विमानस्थलको पश्चिमतर्फ चार र उत्तर–पूर्वतर्फ दुई ठूला जहाज अट्ने गरी पार्किङ क्षमता विस्तार गरिएको छ । 

यसअघि विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा नौ वटामात्रै जहाज पार्किङ क्षमता रहेकामा अब १५ वटा ठूला जहाज सजिलै राख्न सकिने महाप्रबन्धक केसीले बताउनुभयो ।

‘पार्किङ वे’ विस्तारको काम विमानस्थल आफैँले गरेको हो । विमानस्थलको आन्तरिक टर्मिनलको उत्तरतर्फ पनि क्षमता विस्तार गरी नयाँ हल बनाउने काम भइरहेको छ । बेल्ट थप्ने योजना छ । 

बुटिकको काम पनि धमाधम 

अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एअरपोर्टमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । विमानस्थलको भित्री भागको सजावटको काम सकिएको छ ।अब अन्तिम काम अन्तर्राष्ट्रिय टर्मिनल बाहिरपट्टि ‘क्यानोपी’ राख्ने काम पनि सुरु भएको छ । क्यानोपीको संरचना बनिसकेको छ । 

लकडाउनले दुई महिनादेखि व्यावसायिक उडान बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थलको लकडाउनपछि कसरी सेवा सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो ।

सामाजिक दुरी कायम गर्न नयाँ संरचना 

अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दुरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जनाएको छ । 

देशमा जारी लकडाउनकाे अवस्थामा सरकारले यही जेठ मसान्तसम्म हवाई सेवा सञ्चालन स्थगन गरेको छ । विमानस्थल विस्तार, नयाँ संरचना निर्माणलगायत कामको केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निरीक्षण गर्नुभएको थियो ।

विमानस्थलको सेवा सुदृढीकरण र क्षमता विस्तारका लागि पर्यटन मन्त्रीले चासो लिँदै पटक पटक विमानस्थल पुग्ने गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया