तीन थरीका कोरोना अस्पताल तर एकै थरीमा बिरामी थुप्रिँदा व्यवस्थापनमा चुनौती

 जेठ १९, २०७७ सोमबार १६:५:२६ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - देशमा कोरोना सङ्क्रमण बढ्दै गएसँगै यसको व्यवस्थापनमा चुनौती थपिएको छ । अहिलेसम्म १ हजार ५ सय ७२ जनामा कोरोना पुष्टि भएकोमा सरकारले तोकेका अस्पतालमा नै आइसोलेसन शैय्याको अभाव हुन थालेको छ । सरकारले कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीको अवस्था हेरेर उनीहरुलाई राख्न लेभल–१ (सामान्य), लेभल–२ (गम्भीर) र लेभल–३ (शल्यक्रियासहितको उपचार आवश्यक पर्ने गम्भीर समस्या) भएका बिरामीका लागि ३१ वटा अस्पताल तोकेको छ । जसअनुसार लेभल–१ मा १६, लेभल–२ मा १२ र लेभल–३ मा तीन वटा अस्पताल तोकिएका छन् । 

तर नेपालमा कोरोना पुष्टि भएका बिरामीलाई निर्देशिकामा उल्लेख भएअनुसारको अस्पतालमा राखिएको छैन । नेपालमा अहिलेसम्म कोरोना पुष्टि भएका व्यक्तिमा सामान्य लक्षणमात्रै देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गर्दै आएको छ । तर सामान्य लक्षण मात्र देखिएका बिरामीलाई सरकारले लेभल–२ अस्पतालमा राख्दै आएको छ । यी बिरामीलाई लेभल–१ अस्पतालमा राख्नुपर्ने मन्त्रालयले बनाएको निर्देशिकामा उल्लेख छ । निर्देशिकामा उल्लेख भएअनुसार सामान्य लक्षण देखिएका कोरोना सङ्क्रमितलाई लेभल–१ अस्पतालमा नराख्दा पछि थपिने गम्भीर समस्या भएका बिरामीलाई कहाँ राख्ने भन्ने अन्योल देखिएको छ । 

अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीलाई राख्नको लागि ७ हजार ३ सय २६ वटा आइसोलेसन बेड तयार गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार लेभल–१ अस्पतालमा १ हजार ८ सय १०, लेभल–२ मा ३ हजार ५ सय ६१ र लेभल–३ मा १ हजार ९ सय ५५ गरी ७ हजार ३ सय २६ वटा बेड तयार गरिएको छ । 

यस्तै सरकारले लेभल–१, लेभल–२ र लेभल–३ मा भर्ना हुने बिरामीका लागि सबै प्रदेशमा ३ सय ९१ आइसीयू, १ सय ४८ भेन्टिलेटर, ३ सय ८७ क्रिटिकल केयर र ४३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ । लेभल १ मा १८ सय १० जेनरल बेड, ५ सय ४२ आइसोलेसन, १ सय ११ आइसीयू, ४५ वटा भेन्टिलेटर, १ सय २० क्रिटिकल केयर, १८ एम्बुलेन्स, १८ एक्सरे, ३ सिटीस्क्यान र १२ वटा डाइलासिस मेसिन तयारी अवस्थामा राखिएको छ । 

सरकारले बाग्मती प्रदेशमा कीर्तिपुरको आयुर्वेद अनुसन्धान र तालिम केन्द्र, भक्तपुरको दुवाकोटमा रहेको काठमाण्डौ मेडिकल कलेज र चितवनको कोरोना अस्थायी अस्पताल तोकेको छ । यस्तै प्रदेश १ मा अस्थायी कोभिड अस्पताल विराटनगर, प्रदेश २ को जानकी अस्पताल, गण्डकी प्रदेशको बाग्लुङ अस्पताल, तनहुँको जिपी कोइराला राष्ट्रिय केन्द्र र पोखरा अस्थायी कोभिड अस्पतालमा आइसोलेसन वार्ड तोकेको छ । 

यसैगरी प्रदेश ५ को राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, अस्थायी लुम्बिनी अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल तोकिएको छ भने कर्णालीको सुर्खेतमा अस्थायी कोभिड अस्पताल तथा सुदूरपश्चिममा टीकापुर अस्पताल कैलाली, अछाम अस्पताल र डडेलधुरा अस्पताल डडेलधुरा गरी १७ वटा अस्पताल तोकिएको छ । 

लेभल २ मा ३ हजार ५ सय ६१ जेनरल बेड, ५ सय २९ आइसोलेसन, १ सय ३२ आइसीयू, ५७ भेन्टिलेटर, १ सय ९४ क्रिटिकल केयर, १७ एम्बुलेन्स, २८ एक्सरे, ९ सिटीस्क्यान, २ एमआरआई र ७४ वटा डायलासिस मेसिन राखिएको छ । लेभल २ मा बाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरीको अस्पताल र भरतपुर अस्पताल, प्रदेश १ को कोसी अस्पताल, प्रदेश २ मा वीरगञ्जको नारायणी अस्पताल र जनकपुरको प्रादेशिक अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिममा सेती अस्पताल तोकिएको छ । 

यस्तै लेभल–३ अस्पतालमा १ हजार ९ सय ५५ जेनेरल बेड, १ सय १४ आइसोलेसन, १ सय ४८ आइसीयू, ४६ भेन्टिलेटर, ७३ क्रिटिकल केयर, ८ एम्बुलेन्स, १२ एक्सरे, ३ सिटीस्क्यान, २ एमआरआई र ५२ डाइलासिस मेसिन छन् । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाण्डौ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँके गरी तीन वटा अस्पताललाई सरकारले कोरोना उपचारको लागि लेभल–३ अस्पतालका रुपमा विस्तार गरेको दाबी गरेको छ । यी अस्पतालमा कोरोना सङ्क्रमण जटिल भएका बिरामीका लागि शल्यक्रियासहितका व्यवस्था हुनुपर्ने निर्देशिकामा उल्लेख छ । 

कुन प्रदेशमा कति सामग्री ?

सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ हजार ५ सय ७ जेनेरल बेड, ३ सय ७२ आइसोलेसन, १ सय ४१ आइसीयू, ४५ भेन्टिलेटर, १ सय ६६ क्रिटिकल केयर, १५ एम्बुलेन्स, १८ एक्सरे, ७ सिटीस्क्यान, २ एमआरआई र ३५ डाइलासिस मेसिन छन् । 

यसैगरी प्रदेश ५ मा १ हजार १ सय ६४ जेनेरल बेड, २ सय २८ आइसोलेसन, ७७ आइसीयू, २८ भेन्टिलेटर, १०५ क्रिटिकल केयर, ४ एम्बुलेन्स, ६ एक्सरे, एउटा सिटीस्क्यान, एउटा एमआरआई र २३ डाइलासिस मेसिन छन् । 
प्रदेश १ मा १ हजार ९१ जेनेरल बेड, १ सय ७० आइसोलेसन, ८८ आइसीयू, ३१ भेन्टिलेटर, ४९ क्रिटिकल केयर, ४ एम्बुलेन्स, ५ एक्सरे, दुई सिटीस्क्यान र ३३ डाइलासिस मेसिन छन् । यस प्रदेशमा एमआरआई मेसिन छैन । 

प्रदेश २ मा १ हजार २५ जेनेरल बेड, ८९ आइसोलेसन, २६ आइसीयू, १० भेन्टिलेटर, २२ क्रिटिकल केयर, ५ एम्बुलेन्स, ४ एक्सरे, दुई सिटीस्क्यान र १९ डाइलासिस मेसिन छन् । यस प्रदेशमा पनि एमआरआई मेसिन छैन । 

प्रदेश ४ मा ४ सय २२ जेनेरल बेड, ३६ आइसोलेसन, २६ आइसीयू, १५ भेन्टिलेटर, ९ क्रिटिकल केयर, एउटा एम्बुलेन्स, ७ एक्सरे, एउटा एमआरआई र २१ डाइलासिस मेसिन छन् । यस प्रदेशमा सिटिस्क्यान मेसिन छैन । 

कर्णाली प्रदेशमा ५ सय ५० जेनेरल बेड, २ सय २० आइसोलेसन, १८ आइसीयू, १३ भेन्टिलेटर, २१ क्रिटिकल केयर, ६ एम्बुलेन्स, ९ एक्सरे, ३ एमआरआई र २१ डाइलासिस मेसिन छन् । यो प्रदेशमा पनि सिटीस्क्यान मेसिन छैन । 

सुदूरपश्चिम प्रदेशमा ५ सय ६७ जेनेरल बेड, ७० आइसोलेसन, १५ आइसीयू, ६ भेन्टिलेटर, १५ क्रिटिकल केयर, ९ एम्बुलेन्स, ९ एक्सरे, र एउटा डाइलासिस मेसिन छन् । यो प्रदेशमा सिटीस्क्यान र एमआरआई मेसिन छैन । 

यसरी हेर्दा केन्द्र सरकारको राजधानी रहेको बाग्मती प्रदेशलाई सरकारले प्राथमिकता दिएको देखिन्छ । तर पछिल्लो समय भारतबाट आएकाहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिमका भारतसँग सीमा जोडिएका जिल्लामा जोखिम बढेको छ । तर त्यसै अनुसारको तयारी भने पाइँदैन । 

अन्तिम अपडेट: चैत १२, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया