बाँके दुर्घटना : ज्यान गुमाएका १२ सहित ३३ जनाको पीसीआर रिपोर्ट नगेटिभ

ज्यान गुमाउनेकाे नाम खुले पनि सनाखत हुन बाँकी

 जेठ १९, २०७७ सोमबार १८:३९:५ | भावुक योगी
unn.prixa.net

बर्दिया – पूर्व–पश्चिम राजमार्गको बाँके राप्ती सोनारी २ ठोरी जङ्गलमा भएकाे दुर्घटनामा ज्यान गुमाएका १२ सहित ३३ जनाकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ । दुर्घटनामा घाइते भएका २१ मध्ये चार जनाकाे अवस्था गम्भीर रहेको भेरी अस्पताल नेपालगञ्जले जानकारी दिएको छ । 

भारतबाट आएका नागरिकलाई बोकेर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको मिनिबस पूर्व–पश्चिम राजमार्गको बाँके राप्तीसोनारी गाउँपालिका २ काे ठाेरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । 

ज्यान गुमाएकामध्ये ११ जनाको नाम खुल्यो

दुर्घटनामा ज्यान गुमाएका गाडी चालक दैलेखका दानबहादुर खड्का, सहचालक सुर्खेतका पवन भण्डारी, यसैगरी भारतबाट आएका नेपाली नागरिक गाडीमा सवार नरेन्द्र विक, दलबहादुर विक, भीमबहादुर विक, रामबहादुर पुन, पूर्णबहादुर, सीता पुन, रितेश कार्की, मोहनचन्द्र विक, वृद्धिराम विक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ११ जनाको नाम पहिचान भए पनि सनाखत नभएकाले बुझ्ने काम भइरहेको बाँकेका प्रहरी प्रमुख, एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । ज्यान गुमाउने १२ जनाको नाम ठेगाना सहित सनाखतकाे लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।

घाइतेको पहिचान 

दुर्घटनामा घाइते भएकाहरुको पनि पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा घाइते भएका २१ मध्ये २० जनाको पहिचान खुलेको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकाको भेरी अस्पताल नेपागलञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सबै जना भारतबाट आएको र घाइते हुनेमा सबैभन्दा धेरै सल्यानका रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा सल्यान शारदा नगरपालिका ६ कजेरीकी २९ वर्षीया टीका चलाउने, बनगाड कुपिन्डे नगरपालिका ६ घाँजरीका २० वर्षीय मीनराज विक र ५२ वर्षीय दीपबहादुर बुढा रहेका छन् । 

त्यस्तै सल्यान शिद्धकुमाख गाउँपालिका ५ छापडाँडाका १८ वर्षीय धनबहादुर बोहरा, २६ वर्षीय निमबहादुर वली, दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय देवेन्द्र खड्का, १७ वर्षीय ज्ञानबहादुर बोहरा, वडा नं ४ चाँदेका २८ वर्षीय लोकेश घर्ती र २६ वर्षीय शिव भण्डारी रहेका छन् । एक जनाको नाम र ठेगाना खुलेको छैन ।

त्यस्तै दाङ घोराही उपमहानगरपालिका ५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका ६ ग्रामीखोलाका २० वर्षीय दीपेश चौधरी, राजपुर गाउँपालिका २ रैनियाका २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका ६ भानपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका २ खैरीकोटका ३९ वर्षीया विष्णु गिरी र २३ वर्षीय रुपलाल केसी घाइते भएका छन् ।

यसैगरी घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, टुटुका ४० वर्षीय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ वर्षीय नरबहादुर विक रहेका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया