कर्णाली प्रदेश : पीसीआर परीक्षणमा ढिलाइ

 जेठ २०, २०७७ मंगलबार १२:४८:६ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट : कालिकोटबाट पीसीआर परीक्षणका लागि जेष्ठ १५ गतेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएका ४ सयभन्दा बढीको रिपोर्ट अझै आएको छैन । 

जेष्ठ १५ गते महाबै गाउँपालिकामा रहेको क्वरेन्टीनबाट १ सय ४ जनाको र खाँडाचक्र नगरपालिकाबाट ३० जनाको स्वाब पठाइएको थियो ।

त्यस्तै १६ गते नरहरीनाथ गाउँपालिको ३७ शुभकालिका गाउँपालिका ९२ शान्नीत्रिवेणी १ सय १२ रास्कोट नगरपालिका ७४ र खाँडाचक्र नगरपालिकाको ६१ जनाको पठाइएको थियो । पुनः १९ गते खाँडाचक्र नगरपालिका बाट ३० जना सहित कुल ४ सय ४० जनाको पीसीआर परिक्षणका लागि जुम्ला पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।

पीसीआर परिक्षणको रिपोर्ट नआउँदा पालिकालाई क्वरेन्टीन व्यवस्थापन गर्न निकै कठिनाइ भएको छ । दैनिक १ सय ५० जनाभन्दा बढी मान्छे आइरहेका छन् । 

सोमबार राति आएकोहरुलाइ पाल हालेर राखेकको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्कप्रसाद उपाध्यायले बताउनु भयो । भारत लगायत विभिन्न देशबाट कालिकोट आउनेहरुको संख्या बढ्दै गएको र पीसीआर परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा क्वरेन्टीन व्यवस्थापन गर्न निकै चुनौती भएको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताउनु भयो । 

यसैबीच, कालिकोटका ९ जना डाक्टरको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । 

किन हुन्छ पीसीआर परीक्षणमा ढिलाइ ?

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा दैनिक ५ देखि ६ घण्टामा १ सय जनाको मात्र पीसीआर परीक्षण गर्न मिल्छ  । जुम्लाले अहिले जुम्ला, दैलेख र कालिकोट तीन जिल्लाको परीक्षण गरिरहेको छ । हालसम्म ३ हजार ३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्ट्रार बिश्वराज काप्लेले बताउनु भयो । 

सरकारले आरडीटी गरेर पोजिटिभ देखिएकाहरुको मात्र पीसीआर परीक्षण गर्ने भनेकाले अब पीसीआर परीक्षण अलि छिटो हुने रजिष्ट्रार काप्लेले बताउनु भयो ।

के भन्छन् नागरिक ? 

क्वरेन्टीन भरिएको र जिल्लामा भारतलगायत विभिन्न देशबाट मान्छे आउन नरोकिएकाले कर्णालीमा कोरोनाले भयावह अवस्था आउने स्थानीयको बुझाइ छ । 

हाल रहेका क्वरेन्टीनलाइ समयमै उचित व्यवस्थापन गर्न नसके कर्णाली कोरोना केन्द्र हुने स्थानीय दिनेश शाहीले बताउनुभयो । 

पीसीआर रिपोर्टमा ढिलाइ हुँदा क्वरेन्टीनमा रहेकाहरुका लागि खाना खर्च बढ्ने देखिन्छ । क्वरेन्टीनमा रहेका सबै एकै ठाउँमा भेला हुने, एउटै शौचालय प्रयोग गर्ने लगायतका कार्यले संक्रमण छिटै सबैमा फैलिने देखिन्छ ।  सरकारले सम्बन्धित जिल्लामै पीसीआर परीक्षण गर्न सके कोरोना रोकथाममा सहयोग पुग्ने देखिन्छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया