धानको ब्याड राख्ने समयमा बिउको अभाव

 जेठ २०, २०७७ मंगलबार १९:२१:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - धानको ब्याड राख्ने समयमा पनि बिउ नपाएपछि दाङका किसानहरु मर्कामा परेका छन् । किसानहरुको रोजाइमा पर्ने यु.एस.३१२ नामको हाइब्रिड धानको बीउ अभाव भएपछि उनीहरु समस्यामा परेका हुन् ।

अन्य धानको तुलनामा छिटो पाक्ने, पानी कम हुने जमिनमा पनि उब्जाउ हुने, उत्पादन पनि स्थानीय जातको धानभन्दा झण्डै दोब्बर बढी हुने हुँदा यो धान कृषहरुको रोजाइमा पर्दै आएको हो । 

‘धानको ब्याड राख्ने बेला भइसक्यो । तुलसीपुर बजारभरि युएस ३१२ हाइब्रिड धानको बीउ खोजेँ । कतै पाइनँ,’ तुलसीपुर–७ घुसेरीका कृषक टोपबहादुर विकले भन्नुभयो ।

किसानहरु अझै १२-१५ दिनसम्ममा धानको बीउ नआए खेत बाँझै हुने हो कि भन्ने चिन्तामा पर्न थालेका छन्। त्यस्तै घोराही-६ लखवारकी कृषक सीता नेपालीेको गुनासो पनि उस्तै छ ।

‘म एक हप्ता पहिले बजारमा आएर सम्पूर्ण एग्रोभेट पसल चहारेँ । कतै पाइएन । फेरि आजसम्म आयो कि भनेर आएको हुँ । आज पनि पाइएन’ बजारमा भेटिएकी नेपालीले भन्नुभयो ।  अरु धान आफ्नो खेतमा सोचेअनुसारको उत्पादन नहुने भएकाले अझै पनि युएस ३१२ नै पर्खने उहाँको सोच छ ।

खेत बाँझै हुने चिन्ता

युएस ३१२ धानको बीउ दाङमा लकडाउन हुनुअघि ६ सय क्विन्टल आएको थियो । तुलसीपुरमा लामो समयदेखि बीटी एग्रोभेट सञ्चालन गर्दै आउनुभएका निर्मल आचार्यले अझै २० प्रतिशत कृषकलाई बिउ अपुग भएको बताउनुभयो ।

‘थप धान आउने समयमा लकडाउन भयो, त्यसैले गर्दा नआएको हो,’ आचार्यले भन्नुभयो, ‘लकडाउन खुले अझै पनि आउन सक्छ । तर लकडाउन लम्बियो भने केही दिनमा नै अन्य प्रकारका हाइब्रिड धानको बीउ पनि पाइने छैन ।’

घोराहीको सौर्य एग्रोभेटका सञ्चालक हिरालाल थापाको अनुभवमा यस जातको धानमा कृषकको आकर्षण ह्वात्तै बढेको छ ।

‘दाङमा किसानहरुले धानको ब्याड (बिउ) राख्ने समय सुरु भएको छ । तर बजारमा अत्याधिक माग हुने धानको बिउको भने अभाव देखिएको छ,’ थापाले भन्नुभयो, ‘युएस ३१२ को विकल्पमा अन्य प्रजातिका हाइब्रिड धानको बिउ रहेकाले  कृषकलाई नआत्तिन सुझाव दिने गरेको छु ।’

युएस ३१२ बिउ धान उत्पादक कम्पनी नेपालका मध्यपश्चिम सेल्स इन्चार्ज बालकृष्ण लामिछानेका अनुसार कम्पनीमा स्टक सकिएकाले धानको बिउ नआएको हो । अब यो वर्ष युएस ३१२ धान नआउने हुँदा सम्पूर्ण कृषकलाई अन्य विकल्प खोज्न उहाँले आग्रह गर्नुभयो । यो बिउ धानको बजार मूल्य प्रतिकिलो ५ सय रुपैयाँ थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया