ताप्लेजुङ : घुस लिएको आराेपमा दुई सहायक वन अधिकृत पक्राउ

 जेठ २१, २०७७ बुधबार ९:४४:५५ | रासस
unn.prixa.net

ताप्लेजुङ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आराेपमा  ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ घुससहित रङ्गेहात पक्राउ गरिएको हो । 

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाण्डौ पठाइने बताइएको छ । अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया